वालिङलाई शैक्षिक हब बनाउँछौं : उपप्रमुख गैह्रे

स्याङ्जा/१० बैशाख–स्याङ्जाको वालिङ् नगरपालिकाले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । खबर एजुकेशनको सहजीकरणमा विद्यालयमा तहमा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।


कार्यक्रममा शिक्षाविद् डा.विद्यानाथ कोइराला, शिक्षाविद् कोशव घिमिरे, नगरपालिका उप प्रमुख कविता गैह्रे, प्रशासन प्रमुख तेजप्रसाद शर्मा, निजी तथा सार्वजनिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष लगायत सरोकारवालहरु सबैको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।


कार्यक्रममा बोल्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले आफ्नो पेशागत सक्षमता आफैंले पत्ता लगाउनुपर्ने बताए । उनले आफ्ना कमिकमजोरीहरु भए तिनको पनि पहिचान शिक्षक आफैले गर्नुपर्छ र महसूस गरिएका कमिकमजोरीहरु हटाउन चाहेमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहसँग सहकार्य गरेर आपूmलाई एक्काइसौं शताब्दीको सम्मानित शिक्षक बनाउनुपर्ने बताए ।

कोइरालाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक र शिक्षक विच सहकार्य हुनुपर्ने, अनिवार्य बालबचत जस्ता कार्याक्रम लागू गर्नुपर्ने, निजी, सार्वजनिक, तथा धार्मिक विद्यालयको आपसी सहकार्य गर्नुपर्ने, शिक्षकलाई विषयवस्तु, पाठ्यक्रम, पाठ्यपुस्तक, कक्षा शिक्षण तथा शिक्षक तालीम प्रविधिको प्रयोग गर्नुपर्ने, शिक्षक तथा कर्मचारीलाई पालिकाले दिनसक्ने ऋण सुविधाको आधारमा उनीहरुलाई चाहिने सेवासुविधा सुनिश्चित लगाएत गर्न सके शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।


त्यसैगरी शिक्षाविद् केशव घिमिरेले इन्टरनेट विना कक्षा सञ्चालन गर्न सकिने बताउँदै त्यसका लागि शिक्षक र प्रअले काम गर्नुपर्ने बताए । उनले कक्षाकोठामा शिक्षण सिकाईको अवस्था, विद्यार्थीको शिक्षण सिकाईको मुल्याङ्कन, हाजिरी लगाएत सबै अनलाईनबाटै अनुगमन गर्न सकिनुका साथै विद्यार्थी र शिक्षकको सबै विवरण बुझ्न सकिने भनाई राखे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद शर्माले पालिकाभित्रका सबै विद्यालयमा उत्कृष्ट शिक्षा दिने गरी योजना बनाएको जानकारी दिए । उनले शिक्षाका लागि कोही पनि पालिका छोडेर जान नपर्ने बताउँदै सबै मिलेर विद्यालयको शैक्षिक सुधारमा लाग्नुपर्ने भनाई राखे ।


पूर्वाञ्चल विश्वविद्यालय परिषद्का सभासद् तोया नारायण पौडेलले पालिका भित्रका विद्यालयमा उत्कृष्ट शिक्षा दिनसक्नेगरी योजना बनाउन आग्रह गर्दै आफु जस्ता व्यक्तिहरु गाउँफर्कन चाहे पनि वातावरण नभएको बताए । उनले भने “भाषण मात्रै गरेर हुँदैन, मलाई काठमाडौंमा पटक्कै बस्न मन छैन, तर फर्कने अवस्था पालिकाले सिर्जना गेरेको देख्दिन ।”

उपप्रमुख कविता गैह्रेले शैक्षिक गुणस्तर सुधारका लागि युवापुस्तासँग जोडिन आवश्यक रहेको बताउँदै वालिङ् नगरपालिकालाई शैक्षिक हब बनाउने उदेश्य रहेको जानकारी दिइन । उनले शैक्षिक सुधारका लागि पालिका सधै तयार रहेको बताइन ।


गैह्रेले भनिन् “शिक्षकहरुलाई जिम्मेवार बनाउनका लागि नीति बनाउन आवश्यक छ, कस्तो नीति बनाउँदा राम्रो हुन्छ हामीले अध्ययन गर्दैछौं । स्थानीय तहले सपना दिने हो, सपना पुरा गर्ने त शिक्षकले हो ।” त्यसैगरी नगरपालिकाले दुई दुई वर्षमा शिक्षक सरुवा गर्ने गरेको र राम्रो गर्नेलाई पुरस्कार दिने गरिएको बताईन ।