काठमाडौं/३० फागुन-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने तयारी गरिरहेको छ । तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ । महाधिवेशनले छान्ने नेतृत्व सकेसम्म सर्वसम्मत गर्ने र विगतमा जस्तो प्यानल बनाएर चुनाव नगर्ने योजनामा अहिलेको प्याब्सन नेतृत्व रहेको सन्दर्भमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीसँग खबर एजुकेसनले गरेकोे संवाद ।
चैत ९ र १० गते हुने प्याब्सनको राष्ट्रिय महाधिवेशनको तयारी कस्तो छ ?
अहिल हामी चैत ९ र १० गते हुने प्याब्सनको १५ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी गरीरहेका छौँ । प्याब्सनको विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यावस्था भएकोले २ गते उम्मेदवारी मनोनयन हुनेछ । यद्यपि हामी सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सकियोस् भन्ने ढंगले अगाडी बढेका छौँ । सबै महाधिवेशन प्रतिनिधिहरुको चित्त नबुझन पनि सक्छ र विधान त उम्मेदवारी पनि दिन सक्नुहुन्छ ।
अर्को करिब २३ सयको हाराहारीमा प्रतिनिधिहरु भएको कारणले विभिन्न उप समितिहरु बनाएर तयारी भइरहेको छ । महाधिवेशनको उद्घाटन चैत ९ गते प्रधानमन्त्री शेर बहादुर देउवाबाट हुने छ भने कार्यक्रमको विशिष्ट अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ । त्यसैगरी प्याब्सनका पूर्व अध्यक्षहरु,नेपाल सरकारका विशिष्ट व्याक्तित्वहरु लगायतको उपस्थितिमा महाधिवेशन गरीनेछ । पहिलो सत्र उद्घाटन सत्र हुनेछ त्यसपछि बन्द सत्र गर्ने छौँ ।
हामीले सिप संस्कार र प्रविधि सहितको शिक्षा दक्ष जनशक्ति आजको आवश्यकता भन्ने नाराका साथ महाधिवेशन गर्देगर्दा एकेडेमीक सेसनहरु पनि राखेका छौँ । हाम्रो नारालाई आगामि दिनमा निरन्तरता दिँदै शिक्षा क्षेत्रमा नयाँ आयाम दिएर निजी क्षेत्र अगाडी बढ्ने कुरालाई प्राथमिकता दिने छौँ ।
महाधिवेशनको दोस्रो दिन निर्वाचन हुनेछ ६३ सदस्य केन्द्रिय कार्यसमिति बन्नेछ । यि विविध कुराको तयारीमा छौँ ।
तपाईको कार्यकालमा कोभिड-१९ ले धेरै काम गर्न दिएन तर पनि यो विचमा प्याब्सनको इतिहासमा निकै राम्रा कामहरु गर्नु भएको छ । आफुले आफुलाई समिक्षा गर्दा कति काम गर्न सक्थे र कति गरे जस्तो लागेको छ ?
जतिखेर १४ औँ राष्ट्रिय महाधिवेशन भयो र हामी आयौँ त्यतिवेला हामीसँग धेरै चुनौतिहरु थिए । त्यतिवेलै उच्च स्तरीय रष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भइरहेको अवस्था थियो । त्यो प्रतिवेदन लागु भएको भए अहिलेसम्म आधा निजी विद्यालयहरु बन्द भईसक्थे पनि होला । बैंकहरुले ऋण दिन बन्द गरेको परिस्थिति थियो निजी विद्यालयहरुलाई अगाडि बढाउन अत्यान्तै जटिल समस्याहरु भएको थियो । त्यो परिस्थितिका बावजुद हामी आयौँ र सामना गर्यौ । सँगसँगै उच्च शिक्षाको राष्ट्रिय प्रतिवेदनलाई वेठिक छ भन्ने कुरालाई हामीले तत्कालका प्रधानमन्त्रीलाई बुझाउन सक्यौं र त्यसको व्यावस्थापन भयो । त्यसपछि राष्ट्रिय शिक्षा निती निजी विद्यालय मैत्री ल्याउन सफल भयौँ अहिलेसम्म त्यही निती अनुसार नै चलिरहेको छ ।
अर्को संगठनलाई नविकरण गरिएको थिएन, विधान थिएन, नियमावली पनि बनायाँै र संगठन विभक्त जस्तै थियो तर अहिले विधि विधान लगायत सम्पुर्ण कुरामा अपडेट बनाएका छौँ, सबै एक भएर अगाडि बढेका छौँ । त्यसैगरी राजनीति आस्थाका कुराहरुलाई संगठन भित्र छोडिसकेका छौँ, राजनीति गर्ने हो भने त्यसको छुट्टै स्थान छ कसैले पनि संगठन भन्दा बाहिर गएर राजनीति गर्न सक्छ तर प्याब्सन भित्र राजनीति होइन पेसागत काम र कुराहरुमात्र हुनुपर्छ भन्दै यसलाई छोडिएको हो ।
अबका दिनमा प्याब्सन भित्र राजनीति नहोस् भन्नका लागि कस्ता योजना चाहिएला ? राजनीतिबाट मुक्त्त कसरी बनाउन सकिएला ?
नेपालमा राजनीतिलाई स्वार्थसँग जोड्याँै चाहे वर्गिय स्वार्थ होस् वा पार्टीगत स्वार्थ होस, जे भएपनि स्वर्थसँग जोडियो र राजनीतिलाई नकरात्मक दृष्टिकोणबाट हेरियो । हाम्रोमा आफ्नो स्वर्थ पुरागर्न पार्टीलेभल लगाउने तर पेसागत कुरालाई नहेर्ने बढी भएकोले त्यस्ता खालका प्रवृतिलाई प्याब्सनमा पछिल्लो समय पुर्ण रुपमा रोकेका छौँ ।
अहिले पालिकामा प्याब्सनको अधिवेशन भए, जिल्ला, प्रदेशका अधिवेशन भए, यी सबैमा प्याब्सनको केन्द्र रहेका कसैले पनि व्याक्तिहरुलाई तान्न पनि खोजेनौँ, कसैलाई लडाउन पनि खोजेनाँै र समान किसिमको व्यावहार गरेर सम्पन्न गरेउँ । यसले पनि माहोललाई र प्याब्सन भित्रको प्रवृतिलाई परीवर्तन गरेको छ ।
त्यसो भए १५ औ राष्ट्रिय महाधिवेशनमा राजनीति आस्थाका आधारमा कुनै प्यानल हुने छैन ?
यो महाधिवेशनमा उम्मेदवार व्याक्तिगत रुपमा स्वतन्त्र तरीकाले उठ्नु हुन्छ यसपालि राजनीतिक प्रभावको आधारमा कुनै प्यानल वा समुह रहँदैन । यस्तो गर्न प्याब्सनको विधान र नियमावलीले पनि दिँदैन ।
कसैलेपनि प्यानल बनाउँन नपाइने नियमावलीमा उल्लेख गरेका छौँ । यसको अर्थ व्याक्तिगत रुपमा उठ्न पाईयो, व्यक्तिगतरुपमा प्रतिस्पर्धा गर्न पर्यो तर प्यानल बनाउँन पाईएन । विधानमा नै उल्लेख गरिएका कारणले पनि प्यानल बनाए निर्वाचन समितिले त्यसलाई अयोग्य मान्नेछ ।
अहिले निजी विद्यालयहरुको छाता संगठन दुईवटा छन् । यो आवश्यकता छ ? अथवा एउटै उदेश्य भएका कारण एउटै बनाएर लान सम्भव देख्नु हुन्छ ?
प्याब्सन र एन प्याब्सन हुनुपर्ने जरुरी पनि थिएन, यो कुनै राजनीतिक दर्शनका आधारमा वा विचारका आधारमा छुट्टिएको पनि होइन, व्याक्तिगत रुपमा कुरा नमिलेपछि स्वार्थका लागि दुईवटा भएको संगठन हो । त्यसकारणले हाम्रा सबै समस्याहरु एउटै हुन, हामी एउटै डुङ्गामा छौ, फरक के मात्र हो भने हामी दुई तिर फर्किएयौ ।
त्यसैले एन प्याब्सन र प्याब्सनका एजेण्डाहरुमा केही पनि फरक छैन । हामी दुईटैले निजी विद्यालयहरुको सम्पत्ति संरक्षण गर्दै मुलुकमा शिक्षाको विकास गर्ने कुरा गरेकाछौँ । तर अहिले दुईटालाई एउटै बनाउने परिस्थिति बनेको छैन, किनभने त्यो वातावरण नै तयार भएको छैन ।
अझ भन्ने हो भने दुईवटा मात्र होइन हिसान सहित तिन वटा छौँ । विद्यालय तह कक्षा १२ सम्म भइसकेको अवस्था छ र उच्च माध्यामिक तह नै छैन, त्यसकारणले सबै विद्यालय तह नै हेर्ने भएकाले तिनवटाको आवश्यक छैन एउटै बनाउँदा हुन्छ त्यो समय परिस्थितिले वातावरण तयार गर्ला ।
तपाईले सुरु गरेर पुरा गर्न नभ्याएका काम सहित अबको नेतृवले प्याब्सनलाई कसरी अगाडी लानुपर्ने देख्नु हुन्छ ?
मैले र सह अध्यक्षले यो कार्यकाल तिन वर्षको मात्र नभएर ६ वर्षको कार्यकाल हो भनेर लिने गरेका छाँै र त्यसरी नै व्याख्या गरेका छौँ । यसको अर्थ के हो भने अहिले यो कार्यसमितिले पुरा गर्न नसकेको दुइ चारवटा कुराहरु छन् त्यसलाई हामीले पहिलो प्राथमिकता दिन्छौँ ।
अब गर्नुपर्ने पहिलो काम भनेको निजी विद्यालयहरुको सम्पत्तिको संरक्षणका लागि उपयुक्त शिक्षा ऐन चाहिन्छ । ऐनलाई प्याब्सनले अत्याधिक चासो लिएर निजी विद्यालय मैत्री बनाएर संसदबाट पासहोस् भन्ने कुरालाई ख्याल राख्नु पर्छ । दोस्रो हिजो कुनै कालखण्डमा हामीले कम्जोरी गरयौँ त्यो भनेको संसदबाट ऐन बन्दा हामीले चासो लिएनौँ जसका कारण ४५ प्रतिशत आरक्षण छात्रवृत्तिमा समस्या भयो, प्राविधिक तथा व्यावसयिक शिक्षामा हाम्रो पहुँच पुगेन । सरकारले गरेको यो विभेदलाई सच्याउनका लागि भोलिका दिनमा नितीगत कुरामा प्याब्सन बढी चनाखो हुनु पर्छ ।
तेस्रो भनेको नयाँ भवन खरिद गर्दा प्याब्सनको अहिले पनि ६ करोड जति ऋण छ त्यो पनि चुक्ता गर्नु छ । अब प्याब्सनलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि प्रदेश प्रदेशमा बजेट दिने, विभागीय संरचनाहरुको विकास गर्नुपर्ने र केन्द्रिय कार्यालय शिक्षा मन्दिरलाई चुस्त दुरुस्त बनाउन वजेट वृद्धि गर्नुपर्ने जस्ता कार्य योजनाको आवश्यकता छ ।
संगठनमा अहिले एकताबद्ध ढंगले हामी अगाडी बढेका छौ, संगठनलाई विधि, विधान, नियमावली संगत तरीकाले चलाउने जुन प्रण गरेका छौँ, थालनि गरेका छौँ र याहाँसम्म संगठन ल्याएका छौँ यसलाई अझ बलियो बनाएर आन्तरीक एकतालाई सुदृढ गदै अगाडी बढाइयो भने आगामी कार्यकाल पनि स्वर्णिम हुनेमा विश्वास लिएको छु ।



