राज्यको आँखा नपुगेको साविक उच्च माविका शिक्षकको पीडा !!

नवलपरासी/११ माघ-बहुदल आए पछि कयौं सरकार फेरीए तर शिक्षा र स्वास्थ्य प्रतिको राज्यको चिन्तन फेरीएन । सरकारका पार्टी र पात्र फेरीए तर शिक्षा र स्वास्थ्यलाई हेर्ने दलीय प्रवृत्ति फेरीएन । शिक्षाका बेथितिहरु अनगिन्ती छन् । तर शिक्षामन्त्रीले सामान्य सैद्धान्तिक कुराहरुलाई आफ्नो उपलब्धी मानेर प्रचार गरिरहेका छन् ।


२०४६ को राजनीतिक परिवर्तन संगै स्थापना गरिएको सामुदायिक बिद्यालय अन्तर्गतको तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐनको संशोधन संगै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० र माध्यमिक (कक्षा ११/१२) मा परिवर्तन भयो । उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारी निजामती सरह स्वतः पदस्थापन भए तर लामो समय देखि कक्षा ११/१२ मा अध्यापन गर्ने शिक्षकहरुले आफ्नो जीवन सामुदायिक विद्यालयका लागि समर्पण गरे तर तिनिहरुको बारेमा कुनै सरकारको मस्तिष्कमा चिन्तन पलाएन ।


प्राथमिक ,निम्न माध्यमिक तथा माध्यमिक तहमा कार्यरत अस्थायी , करार तथा राहत शिक्षकहरुले एक एक पटक भनी उमेरको हद नलागी, आन्तरिक समेत स्थायी हुने अवसर प्राप्त गरे तर कक्षा ११/१२ मा अध्यापन गर्ने गुरुहरुले हाल सम्म कुनै सुविधा प्राप्त गरेनन् । उमेरले नेटो काटी सक्यो । आफुले अध्यापन गरेका चेलाहरु माथिल्लो पदमा पुगि सके तर राज्य अपराधी बनेर निज शिक्षकहरुलाई शोषण गरिरहेको छ ।


सामान्य अनुदानबाट शुरु गरेको उच्च मावि शिक्षकलाई २०७२ पछि मात्रै दरबन्दी सिर्जना गरि हाल करिब ४ हजार साविक उच्च माविमा शिक्षकहरु दरबन्दीमा कार्यरत रहेका छन् । अनुदानमा नियुक्त भएका बाहेक निज शिक्षकहरु करिब दुइ हजारको हाराहारीमा उमेरले ५० नाघी सकेका छन् । निजहरुको सेवाको सुरक्षा गर्नेतिर कसैको ध्यान जान सकेको छैन ।


शिक्षकका पेशागत हकहितका लागि भनेर गठन गरीएका संघ, संगठन ,महासंघ जस्ता दलीय झुण्डहरुलाई शिक्षकको पेशाको सुरक्षा सँग भन्दा दलको चाकरी गरेर आफ्नो दुनो सोझ्याउने स्वार्थले मात्रै पिरलेको छ । राजनितिक दलको इजहार समातेर बैतर्नी तर्न खोज्ने दलका भरियाबाट निज शिक्षकहरुको पेशाको संरक्षण एवं सेवा सुबिधा प्रदान गर्ने कुरामा सहयोग होला भन्ने कल्पना पनि नगरे हुन्छ ।

राजनितिक दलको इजहार समातेर बैतर्नी तर्न खोज्ने दलका भरियाबाट निज शिक्षकहरुको पेशाको संरक्षण एवं सेवा सुबिधा प्रदान गर्ने कुरामा सहयोग होला भन्ने कल्पना पनि नगरे हुन्छ । 


१२ बर्ष स्थायी र दस बर्ष भन्दा अधिक अस्थायी सेवा गरेका शिक्षकहरु रित्तो हात घर जानू परेको पीडा एकातिर गुज्री सकेको छ । राज्यले श्रमिक सरह दैनिक ज्यालादारीमा गुरुहरुलाई कज्याउन पाएको छ , किन पेशागत सुरक्षा गरोस् ? शैक्षिक माफियाहरुलाई यसको कुनै चिन्ता र चासो छैन । बर्तमान शिक्षा मन्त्रीबाट जुन आशा गरिएको थियो त्यो पनि अब सकिएको छ । शिक्षा क्षेत्र तहसनहस पार्ने सबैको एउटै प्रवृत्ति देखिएको छ ।


साविक उच्च मा विमा २०७२ भन्दा अगाडि नियुक्त शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा तत्काल निजहरुको लागि एकपटकका लागि आन्तरिक स्थायी गर्ने प्रयोजनका लागि उमेरको हद नलगाई न्युनतम ५० अङ्क ल्याउने शिक्षकहरुलाई स्थायी गरि पेनसन प्रयोजनका लागि अस्थायी सेवा गणना गर्ने ब्यबस्था गर्नु पर्छ । अन्यथा सरकारले मन्त्री स्तरीय निर्णय गरि परीक्षा सम्बन्धि निर्देशिका जारी गरि शिक्षक सेवा आयोगले आफ्नो नियमावलीमा संसोधन गरि उनिहरुको लागि छुट्टै परीक्षाको व्यवस्था गर्नु पर्दछ । साथै सरकारले कक्षा ११/१२ को अनिवार्य विषयहरुको दरबन्दी सिर्जना गरी शि.से. आयोगले तुरुन्तै विज्ञापन गर्नु पर्दछ ।


हुन त साविक उच्च मा विमा कार्यरत शिक्षकहरुको उच्च माध्यमिक शिक्षक पेशागत संगठन (HISTUN) पनि गठन भएको छ । हाल सम्म पनि सक्रीय उक्त संगठन पनि दलको दलदलबाट मुक्त हुन सकेन जसले आफ्नै थाप्लोमा बज्र परिरहदा पनि चुपचाप दलको नेताको चाकरी गर्नबाट अलग रहन सकेको छैन । संघ,संगठनका रसिद काट्ने, सदस्यता लिने नगरी वारपारको लडाइँ नगर्ने हो भने अब दुई – तीन बर्षमा अनिवार्य अवकाश भइ रित्तो हात घर जानुको विकल्प छैन ।


सरकार !
शिक्षा र स्वास्थ्यका बेथितिहरुलाई तुरुन्तै हटाई शिक्षकहरुका माग संबोधन हुने गरि संघीय शिक्षा ऐन तुरुन्त जारी गर् । शिक्षकहरुको धैर्यताको बाध टुट्ने अवस्थाको सिर्जना नहोस् भन्ने कुरामा सरोकारवाला सवैको बेलैमा ध्यान जाओस् ।
कुसुम न्यौपाने संयोजक, स्थायी शिक्षक हकहित मन्च नवलपरासी (पुर्व) का संयोजक हुन् ।