बन्दाबन्दी हुने डरले “नो अब्जेक्सन लेटर” लिनेको लर्को

काठमाडौँ /१० माघ-ओमिक्रोन भेरियन्टको संक्रमण बढेसँगै सरकारले स्मार्ट लकडाउन गर्न थाले पछि वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा विद्यार्थीको संख्या बढेको छ । बन्दाबन्दीका कारण विदेश अध्ययनमा जान नपाइने डरले नो अब्जेक्सन लेटर लिनेहरूको संख्या बढेको हो ।


कोभिड-१९ को संक्रमण बढ्दै गए लकडाउन भई वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखा बन्द हुने र विदेशमा पनि बन्दाबन्दी सुरु हुने डरले नो अब्जेक्सन लेटर लिनेहरूको संख्या बढेको देखिन्छ ।


त्यसैगरी शैक्षिक मरामर्श संस्थाहरुले महामारीको समयमा जे पनि हुन सक्ने भन्दै छिटो छिटो नो अब्जेक्सन लेटर लिन विद्यार्थीलाई अताउने गरेका छन् । ओमिक्रोनको संक्रमण फैलिनु भन्दा अघि करीब दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेकोमा त्यो संख्या बढेर अहिले दैनिक पाँच देखि सात सयको हाराहारीमा लिने गरेका छन् ।


वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका प्रमुख हरिप्रसाद निरौलाले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड निकै बढेको बताए । उनले अब स्वदेश तथा विदेशमा बन्दाबन्दी सुरु हुने र ढिला गरे विदेश जान नपाइने डरले विद्यार्थीहरुले धमाधम नो अब्जेक्सन लेटर लिन थालेको बताए ।


नो अब्जेक्सन लेटर लिनका लागि दैनक जसो पाँच सयदेखि सात सय भन्दा बढीले आवेदन दिने गरेका छन् । माघ ४ गतेदेखि १० गतेसम्म ७ दिनमा ३ हजार ६ सय ३ जनाले लेटर लिनका लागि आवेदन दिएका छन् । त्यसैगरी पुस १७ गतेदेखि यता माघ १० गते सम्म ५ हजार ५ सय ५८ जनाले नो अब्जेक्सन लेटर लिईसकेका छन् । सोमबार मात्रै ४ सय ६४ जनाले लेटर लिए ।


अनलाइनका माध्यमबाट आवेदन फाराम भरेर बुझाएका शैक्षिक प्रमाणपत्रको प्रमाणिकरण भएपछि बैङ्कमा रकम जम्मा गरेर मात्र शाखामा विद्यार्थीहरु लेटर मात्र लिन आईदिनका लागि निरौलाले आग्रह गरे । उनले आवेदन फाराम भर्ने बित्तिकै विद्यार्थी शाखामा आउने गरेका कारणले पनि भिढ बढेको बताए । “विद्यार्थी नोअब्जेक्सन लेटर लिने बेला मात्र आइदिए हुन्थ्यो” उनले भने ।

“विद्यार्थीलाई समस्या नहोस भनेर दिन रात नभनि कामगरेका छौं” निरौलाले भने । कर्मचारीलाई स्वास्थ्य समस्या देखिए पनि आलोपालो व्यावस्थापन गरेर भएपनि काम गरिरहेको बताए ।


गत साउनदेखि माघ १० गतेसम्ममा करिब ३२ हजार ७ सय ३७ ले नो अब्जेक्सन लेटर लिइसकेका छन् । त्यस्तै २०७७ भदौ १२ गतेदेखि अनलाइन माध्यमबाट नोअब्जेक्सन लेटरको आवेदन दिने व्यावस्था गरेपछि अहिलेसम्ममा १२ करोड ७९ लाख ६२ हजार राजस्व संकलन भइसकेको छ ।