तस्विर:अरब न्युज
अफगानिस्तान/३ असोज-अफगानिस्तानको तालिबान सरकारले छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । उच्च माध्यमिक विद्यालय पुगेका छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको हो ।
तालिबानको सरकार आएपछि विद्यालयहरु पुनः सञ्चालन आएसँगै छात्र र पुरुष शिक्षकलाई मात्र विद्यालय फर्किन निर्देशन दिँदै छात्राहरुलाई विद्यालय हाताभित्र प्रवेश गर्नमा रोक लगाएको छ ।
शनिबार कक्षा पुनःसञ्चालन गर्दै तालिबानले भनेको छ ‘सबै पुरुष शिक्षक र विद्यार्थीहरुले मात्र आफ्नो शैक्षिक संस्थाहरुमा उपस्थित हुन पाउनेछन’। तर महिला शिक्षक र विद्यार्थीहरुको लागि प्रवेश नदिने सरकारको निर्देशन छ ।
तालिबानले महिलाहरुको लागि सहज वातावरण बनाउने प्रतिबद्धता जनाउँदै अगष्टमा अमेरिकी सेनालाई पूर्ण रुपमा फिर्ता पठाएको थियो । महिलाको लागि कठोर मानिएको तालिबानको सन् १९९० को दशकको शासनकाल भन्दा यसपटक महिला शिक्षा र अधिकारलाई प्राथमिकतामा राख्ने बताइएको थियो ।
तर तालिबान सरकारअन्तर्गत शिक्षा मन्त्रालयको पछिल्लो कदमले महिला अधिकारलाई खतरामा पारेको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । ‘अफगानिस्तानमा युवती र किशोरीहरुको भविष्यप्रति हामी गम्भीर रुपमा चिन्तित छौँ’ संयुक्त राष्ट्रसंघअन्तर्गत युनिसेफले भनेको छ, ‘शैक्षिक संस्था पुनसञ्चालन हुँदा तालिबानले महिला शिक्षक, युवती र बालिकालाई विद्यालय फर्किन नदिनुले गम्भीर संकट निम्तिन सक्छ ।’ अरब न्युजमा समाचार छ ।



