दोलखा /२० बैशाख – कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्ररूपमा बढीरहेको बेला दोलखाका चार गाउँपालिकाले विद्यालयको वार्षिक परीक्षा सञ्चालन गरे पछि परक्षिा सञ्चालन नगर्न शिक्षा विकास तथा समन्वय इकाई दोलखाले सूचना जारी गरेको छ ।
आइतबार इकाईले सूचना जारी गरे पछि सबै गाउँपालिकाले परीक्षा स्थगित गरेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले खबर एजुकेबलाई बताउनु भयो । श्रेष्ठका अनुसार कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर चार गाउँपालिकामा १६ र १७ गते परीक्षा सञ्चालन गरेको जानकारी पाए पछि सरकारको निर्णय कार्यन्वयन गर्न पत्र पठाएका छौं । अहिले सबै गाउँपालिकामा परक्षिा स्थगित भएका छन् ।
संघीय सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्देशनलाई बैवास्ता गर्दे चार गाउँपालिका कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका थिए ।
कोरोनाको दोस्रो लहर बालबालिकासमेत संक्रमण भइरहेका बेला स्वास्थ्यको सामान्य मापदण्डसमेत पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुले आपत्ति जनाएका थिए । गाउँपालिकाले कोरोनाको प्रभाव नदेखिएको भन्दै वार्षिक परीक्षा सञ्चालन गरेको जनकारी दिएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।



