काठमाण्डौं/१२ वैशाख– परीक्षा स्थगित गर्न माग राख्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् ।
कोरोना बढ्दै गएको समयमा पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयका पदाधिकारीहरुसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले जानकारी दिए ।
अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी सङ्घका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका हुन् ।
आगामी वैशाख १६ गतेदेखि विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीले भने कोरोना महामारीमा परीक्षा सञ्चालन गर्दा स्वास्थ्य हिसाबले जोखिम हुने भन्दै त्यसलाई अहिले स्थगन गर्न माग गरेका छन् ।



