प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारीसहित १० जनालाई पक्राउ

काठमाण्डौं/१२ वैशाख– परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङस्थित प्रहरी कार्यालयले प्रश्नपत्र आउट गर्नमा संलग्न रहेका एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको हो ।

पूर्वाञ्चल विवि अन्र्तगत इन्जिनियरिङ संकायको वैशाख ३ गते सञ्चालन भएको स्नातक दोस्रो सेमेष्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो । विद्यार्थीहरूसँग मोटो रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोप छ ।

मोरङ प्रहरीले शनिबार ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट र अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो । उनीहरुलाई ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।


परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा. डा. सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । अनुसन्धानमा प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको खुलासा भएको छ ।

प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गर्दैछ ।