शिक्षक र विद्यार्थी कहिल्यै पनि राज्यको प्राथमिकतामा परेनन्, किन ? माननीय शिक्षा मन्त्रीलाई खुला पत्र

माननीय शिक्षा मन्त्रीज्यु,
शिक्षा मन्त्रालय, काठमाडौं ।


गणतन्त्र घोषणा पश्चात् सुखी नेपाली समृद्ध नेपालको नारा सहित पहिलो निर्वाचित २÷३ नजिकको सरकार गठन भएको पनि ३ वर्ष पुगिसकेको छ ।

तपाईले शिक्षा मन्त्रालयको नेतृत्व सम्हाली रहँदा हामीलाइ आशा लागेको थियो कि शिक्षा क्षेत्रका विद्यमान तमाम चुनौतीहरु समाधानमा हजुर दत्तचित्त भएर लाग्नु हुने नै छ त,र विडम्बना अर्कै देखियो ।

राष्ट्रको विकाशको मुल आधार भनेकै शिक्षा हो तर गणतन्त्र आएको १२ वर्ष बितिसक्दा पनि तपाई २÷३ नजिकको सरकारको शिक्षा मन्त्री बनेर हालसम्म संघीय शिक्षा ऐन ल्याउन नसकेर नेपालको शिक्षा पञ्चायतकालिन शिक्षा ऐन २०२८ को नवौं संसोधनको वैशाखिमा चलिरहनुले तपाइँको कार्यक्षमता झल्काइ रहेको छ । चुनाव ताका शिक्षामा आमूल परिवर्तन गर्ने घोषणा पत्रमा रहेका बुँदाहरु रद्दीको टोकरिमा मिल्काउँदै आफ्नै व्यक्तिगत स्वार्थमा अल्झिरहेको हामी आम शिक्षकहरुलाइ अनुभुती भईरहेकै छ ।

विद्यालय तहमा विगतमा १७ थरिका शिक्षक रहँदा हाल तपाईको कार्यकालमा थप स्वयंसेवक शिक्षक र स्थानिय तहका शिक्षकसहित १९ थरिका शिक्षकहरु हुन पुगेका छन् । बाल विकास र विद्यालय कर्मचारी न्यूनतम तलब मान भन्दा ज्यादै कम पारिश्रमिकमा काम गरिरहेका छन् । राहत शिक्षक तथा ३ दशक अगाडि देखी कक्षा ११/१२ मा अध्यापनरत साबिक उमावि शिक्षकहरु आफ्नो सिर्जनात्मक उमेरमा राष्ट्रलाई योगदान गरिरहँदा नयाँ शिक्षा ऐन ल्याएर व्यवस्थापन नगरि सरकार र शिक्षकका पेशागत संगठनले अस्थायी प्रकृतिका शिक्षकहरुलाई विगत्मा नियुक्ति भएको ठान्दै आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाउन स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको कुरा पनि हामीलाइ थाहा नै छ । नेपालको शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा भएका विकराल चुनौतिहरु समाधानको बदलामा निजामती कर्मचारीहरुको सेवा–सुविधा भन्दा कम सुविधामा राष्ट्रका भविष्यका विभिन्न क्षेत्रका जनशक्ति उत्पादनको जनशक्ति शिक्षकहरुलाई भौतिक सेवा सुविधा त परै जाओस् शब्दोच्चारणमा प्रशंसा र धन्यवादको बदलामा शिक्षकहरुलाई जुका, निमुखा, आत्महत्या गर्न नसकेर शिक्षक बनेका जस्ता कुरा तपाइँ र तपाइँका संरक्षकबाट आइरहँदा शिक्षकको मनोबल कस्तो भएको होला केहि सोच्न सक्नु भएको छ? छैन । यस अवस्थामा “जस्ता तिम्रा तिहुन ताउन उस्तै हाम्रा सिउन साउन” दर्जीको भनाई जस्तै शिक्षा क्षेत्र र सामुदायिक विद्यालय गुज्रिरहेकै छन् ।

विश्वब्यापी रुपमा फैलिएको महामारी दोस्रो चरणमा पुनः नेपालमा फैलिरहदा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच कोरोना रोकथामको सन्दर्भमा जुहारी चलेकै छ । यो सबै कुरा क्षमता विहिन गलत व्यक्तिले मन्त्रालय सम्हाल्दाको परिणाम हो भन्ने हामिलाइ लागिरहेको छ ।

तपाईंको अभिव्यक्ति व्द्यिार्थी बालबालिका घरमा भन्दा व्द्यिालयमा सुरक्षित छन् भन्ने त आयो । प्रति प्रश्नमा के, कति र कसरी सुरक्षित छन? तपाइँले सम्हालेको मन्त्रालय अन्तरगत डोल्पाको त्रिपिटक प्रावि र हुम्लाको गणतन्त्र प्रावि कत्तिको भौतिक तथा बालमैत्री छन् र सुरक्षित छन् कहिल्यै बुझ्ने चेस्टा गर्नु भएको छ?, छैन् । मन्त्रीको सवार हुँदा शहरी क्षेत्रका केहि निजी विद्यालयको भौतिक संरचना र तिनैका मालिकको प्रलोभनमा परी देशभरका सबै विद्यालयहरु एकै वातावरणका देख्नु साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखे जस्तै हो ।

नेपालका ग्रामीण क्षेत्रका जनताहरु परम्परागत कृषीमा निर्भर हुँदा वर्षभरि हातमुख जोर्न नपुग्ने भएको हुँदा कालापहाड (भारत) मजदुरि गर्न जानु पर्ने बाध्यता छँदैछ । वर्तमान अवस्थामा भारतमा कोरोना महामारी चरम अवस्थामा भएको हुँदा भारतका धेरै राज्यहरूमा विद्यालय बन्द गरिएको छ । कालापहाड मजदुरी गर्न जाने जनता त्यहाँको महामारीबाट बच्न स्वदेश फर्किरहेका छन् । उनीहरु नेपालको हरेक ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावक हुन् । उनीहरुबाट ग्रामिण क्षेत्रका विद्यालयमा कोरोना भित्रिन सक्छ कि सक्दैन ?

देशमा सबै क्षेत्रमा सेवा दिने जनशक्ति उत्पादन गर्ने शिक्षक र देशको सुन्दर भविष्य निर्माण गर्ने बालबालिका कहिल्यै पनि राज्य र नेपालका राजनीतिक दलको प्राथमिकतामा परेनन्, किन ? सबैभन्दा भिँडभाँडमा, घुलमिल हुने शिक्षक र विद्यार्थीहरु कोरोना विरुद्धको भ्याक्सिन आउँदा संघरू प्रदेश तथा स्थानिय तहका कुनै पनि सरकारको न प्राथमिकतामा पर्यो, न राजनितीक दलको । देशमा जस्तो सुकै राजनीतिक शासन व्यवस्था होस्, जबसम्म शिक्षामा प्राथमिकता दिइंदैन, तबसम्म शिक्षा अस्तव्यस्त नै हुने छ । धेरै बालबालिका अहिले कोरोनाबाट छट्पटी रहेका छन्, खोई उनीहरुको कोरोना परिक्षणको व्यबस्था ? शिक्षक त “आत्महत्या गर्न नसकेकाले जागिर खाएका हुन् भनेर भन्ने!” प्रधानमन्त्री जो छन् यहाँ । के बालबालिकाहरु देशका कर्णधार होइनन् ? खोई प्राथमिकता ? शिक्षासँग सरोकार राख्नेले खोई कुरा उठाएको ? कथाकथित शिक्षाविद्, शिक्षा सरोकारवाला, मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय, जिल्ला, नगर, गाउँ, समिति, शिक्षक महासंघको संरक्षक, शिक्षा मन्त्रीज्यु तपाईं नै होइन र ?

तर यथार्थ, पहिलो चरणको कोरोना महामारी पश्चात् आफ्नो विचारमा सहमत हुने सुकिला मुकिला तथा राज्यसत्ताको शक्तिको वरिपरि घुम्ने झुसे वसन्ते कार्यकर्ताहरु कोरोनाविरुद्धको खोपको प्राथमिकतामा राखियो । तपाईंहरुले विद्यालयका बालबालिका र शिक्षकहरुलाई पहिलो प्राथमिकतामा नराख्नुको कारण आफ्नो विचार इतरको सरकारको पालामा जन्मेका बालबालिका र शिक्षक नियुक्ति तथा शिक्षण पेशा समाजको सबै भन्दा तुच्छ पेशा र आफ्ना वा आफू जस्तै अरुका झोले कमारा कमारी सम्झेर नै हो भन्ने आम शिक्षकहरुले बुझीरहेका छन् । जसको परिणाम स्वरुप हाल कोरोना महामारीको केन्द्र विद्यालय बन्न पुगेको छ । विद्यालयमा प्रति कक्षा कति बालबालिका हुन्छन् र कति सम्म भिँड हुन्छ भन्ने कुरा बिर्संदै आलोकाचो निर्णयमा रमाउने तपाईं शिक्षा मन्त्रीलाई धेरै धेरै शुभकामना छ ।

शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै वैकल्पिक विधिको रटान गराउनु भएको छ । के कोरोना शहरी क्षेत्रमा मात्र आउँदै छु भनेर नेपाल सरकारलाई सूचना दिएको छ ! त्यसो हो भनेसरकारले तोकेको क्षेत्र बाहिरका विद्यालयमा कार्यरत शिक्षक एवम् बालबालिकाहरु किन सक्रंमित भएका छन् त !

विद्यालय क्षेत्रमा कोरोना रोकथामका लागि शुन्य कार्य त गर्नु भयो नै त्यसैले शैक्षिक संस्था बन्द गरि वैकल्पिक विधिबाट अध्यापन गराउने बाध्यता आइपर्यो । वैकल्पिक विधि पूर्ण रुपमा कार्यान्वयन गर्न पहिलो चरणको बन्दाबन्दी पश्चात् तपसिलका कार्यहरू के–कति सम्पन्न भए आम अभिभावक तथा शिक्षकहरु जान्न चाहन्छन् ।

–विद्युतीय पहुँच प्रत्येक विद्यालयमा पु¥याउन कति आर्थिक लगानी गर्नु भयो ?
–लगानी गरिएका विद्यालयमा ईन्टरनेट सुविधा पु¥याउन सकियो कि सकिएन ?
–ईन्टरनेट पुगेका स्थानहरुमा त्यसको गति वा क्षमता बिस्तार गरियो कि गरिएन ?
–विद्युत सेवा नियमित गर्न कतिको पहल गरियो? वैकल्पिक उर्जाको व्यवस्थापन गरियो ?
–गरिबीको रेखामुनि रहेका अभिभावकका बालबालिकाको लागि विद्युतीय सामाग्री के–कति प्रदान गरियो ?
–सुचना प्रविधि युक्त विद्यालय बनाउन गरिएको लगानीबाट खरिद गरिएका विद्यीितय सामाग्रीहरु कम्प्युटर, ल्यापटप खरिद पश्चात् प्रयोगमा आए कि आएनन् वा भन्डारण कोठामा सुरक्षित राखेर केहि प्रतिशत आम्दानीका लागि मात्र बजेट खर्च भयो भन्ने कुराको नियमन भयो कि भएन ?
–वैकल्पिक शिक्षणका लागि शिक्षकहरुलाई आवश्यक सामाग्री तथा तालिमको व्यवस्थापन, शिक्षा सँग सरोकार राख्ने कार्यालय संघ, प्रदेश र स्थानीय निकायबाट गरीयो कि गरीएन ?

कर्णाली प्रदेशको एक शिक्षकको हैसियतले भन्नु पर्दा माथिका कुनै पनि कार्य गर्ने क्षमता रहेनछ । बालबालिकाहरुको बाल हठ वा कसैको सुगा रटाइ अनुसारको अभिव्यक्ति शिक्षा मन्त्रीज्यु, हजुर बाट बारम्बार आउने र दिन नबित्दै परिवर्तन हुने भएको हुँदा तपाईंलाई आम शिक्षकहरुको तर्फबाट झुन झुन बाजा उपहार प्रदान गर्दछु ।

तपाईंको मन्त्रालय मातहतको
जुका र निमुखा शिक्षक