काठमाण्डौं/७ वैशाख– स्वास्थ्यको उचित मापदण्ड पालना गरेर त्रिभुवन विश्वविद्यालयले परीक्षा लिने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले भर्चुअलबाट पठनपाठन गर्ने निर्णय गरे पनि त्रिविको सम्पूर्ण परीक्षा नरोकिने भएको हो ।
महामारी का कारण परीक्षा पेन्डिङमा थियो तर, अब परीक्षा नरोकिने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसाललले जानकारी दिए । अहिले त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ ।
उनले भने’ ‘पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइने छ । स्वास्थ्यको उचित मापदण्ड पालना गरेर परीक्षा गर्छौं । परीक्षा जेठ १५ गते सम्म सञ्चालन हुनेछ ।’
उनका अनुसार कक्षाहरूलाई अनलाइन गर्न मिल्ने कुरालाई कुनै रोकतोक गरेको छैन । क्याम्पसलाई आफ्नो परिस्थति हेरेर निर्णय गर्न अधिकार दिएको छ ।
त्रिविअन्तर्गत अहिले ४ लाख विद्यार्थी अध्ययनरत छन् । कोरोना संक्रमण बढेपछि सरकारले सोमबारदेखी वैशाख मसान्तसम्मका लागि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।



