भक्तपुर नगरपालिकाद्वारा सहुलियत ब्याजदरमा एक सय १९ जनालाई शैक्षिक ऋण प्रदान

भक्तपुर/२९ चैत– भक्तपुर नगरपालिकाले यो वर्ष ११८ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा शैक्षिक ऋण प्रदान गरेको छ ।
नगरपालिकाभित्र स्थायी बसोवास गर्दै आएका र स्वदेशमा नै उच्च शिक्षा अध्ययन गर्ने चाहने विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै नगरपालिकाले शैक्षिक ऋण वितरण प्रदान गर्न सुरु गरेको हो ।
स्वदेशमा नै सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गत वर्षदेखि नै लागु गरि नगरपालिकाले शैक्षिक ऋणको लागि आवेदन परेकामध्ये अन्तवार्ताबाट छनोट गरी शैक्षिक ऋण प्रदान गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताए । भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
उनले आर्थिक कारणले गर्दा कोही पनि पढाईबाट बञ्चित हुन नपरोस् भनी नगरपालिकाले शैक्षिक ऋणको अवधारणा अगाडि सारेको बताए ।
जनताको आधारभूत आवश्यकता भित्र पर्ने शिक्षा र स्वास्थ्य निकै महगिँदै गएको वर्तमान अवस्थामा नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेको प्रमुख प्रजापतिले बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा रु. पाँच लाख सम्मको रकम वितरण कार्य अरु स्थानीय तहको लागि सिक्न योग्य भएको बताए । भक्तपुर नपाले चालेको यो कदमले देशको सेवामा समर्पित सभ्य, सुसंस्कृत र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ ।
भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गरेको थियो । निर्देशिकामा स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. पाँच लाखसम्मको ऋण दिने निर्णय व्यवस्था गरेको छ ।
निर्देशिका अनुसार नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको छ ।