शिक्षा मन्त्रालयले छलफलका लागि सरोकारवालालाई बोलायो


काठमाडौं /३० चैत – बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट) को संक्रमण उच्च देखिए पछि विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन हप्ता सम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले यसबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

पछिल्लो एक हप्तामा १८ वर्ष मुनीका संक्रमित मध्ये दैनिक १५ प्रतिशत बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।

तर आइतबार नै प्याब्सनले सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विद्यालय बन्द नगर्न प्रेस विज्ञप्ती जारी गरेको छ । प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएको छ ।

कोरोना संक्रमणको दर देशभर नहुने भएकाले अत्यन्तै आवश्यक भए सम्बन्धिन्त विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न र अन्य ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिन प्याबसनको आग्रह छ ।