काठमाण्डौं/२९ चैत– अहिले नै विद्यालय बन्द हुने प्रक्रियामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कुनै तयारी नरहेकोे मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।
अहिलेसम्म सरोकार कुनै पनि पक्षबाट विद्यालय बन्द गर्नुपर्छ भनि कुनै आधिकारीक निर्णय तथा जानकारी प्राप्त नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट तत्काल विद्यालय बन्द गर्ने प्रक्रियामा नरहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
सरकारले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईन मार्फत् पठनपाठन जारी राख्ने भनि सिसिएमसीलाई सिफारिस गरिएको भएता पनि अहिले सम्म विद्यालय बन्द गर्न भनि आधिकारीक पक्षबाट कुनै निर्णय नभएकाले सरकारको बैठक पश्चात् जुन निर्णय हुन्छ, त्यसैलाई कार्यान्वयन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
तर, अहिलेलाई भने निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चैत २५ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाको पहिलो बुँदा नं.मा जुन कुरा उल्लेख गरिएको छ, त्यस अनुसार स्वास्थ्य सतर्कता अपनाउनका लागि सबै विद्यालयलाई सूचित गरिसकेको मन्त्रालयका प्रवक्ता शर्माले बताए ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तथा कलेज बन्द गरेर विकल्पका रुपमा अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।



