काठमाण्डौं /७ चैत – नेपालमा केहि वर्ष यता सञ्चारको तीव्र रुपमा विकास तथा विस्तार भएको पाइन्छ । करिव ५ वर्ष यता मोवाईलको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको अवस्था छ । अहिले हरेक बालबालिकाहरुदेखि लिएर किशोरकिशोरी, युवा, वयस्क, वृद्धवृद्धाहरुले मोबाईल फोनको प्रयोग गरिरहेको हुन्छ ।
साथसाथै विद्यार्थी, किसान, मजदुर श्रमिक, कर्मचारी, शिक्षक, बुद्दीजिवी, व्यापारी र सर्वसाधारण जनता सबैको हात हातमा मोवाईल फोन हुने गरेको पाईन्छ ।
मोबाईलमा अडियो तथा भिडियोदेखि लिएर चलचित्र, अलार्म, भ्वाईस रेकर्ड, इन्टरनेटको प्रयोग गरी संसारभरका नयाँनयाँ घटना तथा गतिविधिहरु हेर्न तथा थाहा पाउन सकिन्छ । विश्वका नयाँ नयाँ गतिविधि र घटना अनि आफ्ना आफन्तजन, ईष्टमित्र, साथीभाई, मान्यजन र गुरुवर्ग आदि सवैका कार्यकलाप र गतिविधि बारे जानकारी पनि मोवाईल फोनबाट नै पाउन सकिन्छ ।
मोवाईल फोन एउटा यस्तो साधन हो, जुन साधनको सहि सदुपयोग गर्न जानियो भने जीवनमा सकरात्मक परिवर्तन ल्याउन सकिन्छ । आफूभन्दा टाढा रहेका आफन्तजन, ईष्टमित्र तथा साथीभाईहरुसँग कुराकानी गर्न, सम्झन र घण्टौं लाग्ने काम मिनेटमै सम्पन्न गर्न, गराउन र विभिन्न कुराको जानकारी थाहा पाउन मोवाइल फोनको प्रयोग गरीन्छ । मोवाईल फोनको प्रयोग अडियो सुन्न वा भिडियो हेर्नका लागि होस् या फेसनकै लागि होस् प्रत्येक विद्यार्थी र अभिभावकसँग अहिले साथमा मोवाईल फोन हुने नै गर्दछ ।
मोबाईल फोन अहिले फेसन भईसकेको छ । सहि सदुपयोग गर्न जानियो भने यसले जिन्दगी बनाउन सहयोग पु¥याउँदछ भने यसको गलत प्रयोगले जिन्दगी नै बर्वाद गर्दछ । मोवाईल फोनको गलत प्रयोग अर्थात् दुरुपयोग प्रायः गरि विद्यार्थीहरुबाट नै हुने गरेको पाईन्छ । मोवाईल फोनको गलत प्रयोग अधिकांश सहरी तथा विकसित ठाँउ, सदरमुकाम र इन्टरनेटको पहुँच भएको ठाँउमा रहेका विद्यार्थीहरुले गरेको कुरा बेलाबेलामा हामीले सुन्न सकिन्छ । मोवाईल फोनको कारण कति विद्यार्थीहरु अरुको नक्कल गर्दा कुलतमा लाग्ने, माया प्रेमको जालमा फसेर आफ्नो पढाइ र आमा बाबुको सपना र चाहानालाई भुलिदिने गर्दछन् । फेसन, स्टाइलको लहलहैमा लागेर अधिकांश विद्यार्थीहरुको ध्यान अहिले पढाईमा देखिंदैन । उनीहरुले आफ्नो लक्ष्य र भविष्य के हो भन्ने कुरा समेत बिर्सिसकेको अवस्था छ ।
के मोवाईल फोन विना विद्यार्थी जिवन असम्भव र अकल्पनिय छ ?
विद्यार्थीहरु! एकपटक यो कुरालाई अवश्य ध्यान दिउँ । के अहिले विद्यार्थी जिवनमा मोबाईल फोन, आईप्याड, गेम आफ्नो पढाई र भविष्यभन्दा पनि महत्वपूर्ण छ र? आफ्नो र आमाबाबुको ईच्छा, चाहना र आवश्यकता भन्दा पनि मोबाईल नै त्यस्तो महत्वपूर्ण चीज हो र? मोबाईल फोनको अत्यधिक प्रयोगले तपाईको उज्वल र सुन्दर भविष्यमाथि खेलवाड गरिरहेको छ भन्ने कुरामा बेलैमा हेक्का राख्ने कि नराख्ने ?
एकपटक अवश्य सचेत होऔं मोवाईल फोनदेखि ! यसको सहि सदुपयोग गर्न सकेमा विद्यार्थीहरुले घरबाटै पनि आफ्ना कक्षाका साथीहरु तथा कक्षा शिक्षकसँग नजानेका र नबुझेका विषयवस्तुहरुको बारेमा छलफल, सल्लाह, सुझाव र परामर्श लिन सकिन्छ । त्यस्तै, ईन्टरनेटबाट नयाँ नयाँ र खोजमुलक जानकारी, तथा ज्ञान लिन सकिन्छ । विश्वमा दिनदिनै नयाँ नयाँ आविष्कार, अनौठा र चाखलाग्दा विषय, आश्चर्यजनक अनि रोचक घटनाहरु घटिरहेका हुन्छन् ति सवैको ज्ञान र जानकारी मोवाईल फोनबाट नै सहज रुपले हासिल गर्न सकिन्छ ।
टाढा टाढाका मान्छेलाई फसवुकमा साथी बनाई कुरा गर्नु, अनावश्यक चर्चा चलाउनु, सानै र पढ्ने उमेरमै मायाँ प्रेमको जालमा फस्नु, कुलतमा लाग्नु र पढाई प्रति ध्यान नजानुको मुख्य कारण अहिले मोवाईल फोन नै भएको छ । अहिले भर्खरै भेटेको र सामाजिक सञ्जालमा फोटो हेरेकै भरमा किशोरकिशोरीहरु एकले अर्कोलाइ मन पराउँछन्, नाम तथा मोवाईल फोन नम्वर साटासाट गर्छन् अनि साँझ पढ्ने समयमा फोनमा अनावश्यक गफ गरेर पढाई बर्वाद गरिहेका हुन्छन् ।
किताबलाई प्राथमिकता दिंदै मोवाइल फोनको सहि सदुपयोग गरौं
विद्यार्थी जिवनमा विद्यार्थी र किताबको परिपूरक सम्बन्ध हुनुपर्छ । विद्यार्थीले पाठ्यक्रमलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । विद्यार्थीहरु किताबी पढाइमा सीमित भई आफ्नो सुनौलो भविष्यको योजना र अभिभावकको सपनालाई साकार गर्न तिर आफ्नो ध्यान केन्द्रित गर्न सक्नुपर्छ ।
विद्यार्थीले किताबी पढाईको सहयोगीको रुपमा मोबाईलको प्रयोगबाट पनि विशेष लाभ लिन सकिन्छ । विद्यार्थीहरुले मोवाइल फोनलाई नसाको रुपा नलिई ज्ञान वढाउने साधनको रुपमा लिन जरुरी छ । मोवाइलको गलत प्रयोग गरेर मायाप्रेम प्रसंगसँग जोड्नु हुँदैन । विद्यार्थी आफू भविष्य निर्माणको पथमा लागिरहेको कुरा कहिल्यै बिर्सिनु हँदैन ।
शिक्षालाई मान्छेको तेस्रो आँखाको रुपमा लिएको छ । शिक्षाले समाज तथा राष्ट्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याईदिन्छ । अहिले विद्यार्थीको रुचिको विषय अध्ययन हुनुपर्छ । किताबको अध्ययन तथा ज्ञानबाट पढाइ र लेखाइमा समेत फाइदा हुन्छ । यसबाट प्रायोगिक रुपमा पनि विभिन्न विषयहरुको ज्ञान हासिल गर्न सकिन्छ । अहिले किताबको पढाइलाई महत्व दिन सकियो भने मात्र विद्यार्थीहरुको जीवन सफल हुनेछ ।
वास्तवमा मोवाईल फोन तथा सामाजिक सञ्जाल जस्तै फेसवुक, ट्विटर, जिमेल, गुगल, युटुव, आदिलाई विद्यार्थीहरुले फेसन, स्टाईल र आवश्यकताका रुपमा लिनाले यसको गलत प्रयोग गरिरहेको देखिन्छ । तर, सहि समयमा सहि उपयोग गर्न सक्ने विद्यार्थीहरुका लागि भने मोवाईल एउटा वरदान सावित भएको छ । मोवाइल फोनमा समय बिताउने यस्ता विभिन्न सामाजिक सञ्जाल मात्रै नभई विद्यार्थीका लागि आवश्यक पर्ने विभिन्न उपयोगी कुराहरु पनि रहेको पाईन्छ । जस्तै, हिसावकिताव गर्नको लागि क्याल्कुलेटर र समय रहेको हुन्छ, विभिन्न देशको नक्सा हेर्न र खोज तथा अनुसन्धान गर्न गुगलको प्रयोग गर्न सकिन्छ । यसले विद्यार्थीहरुलाई निकै सहज बनाउंछ । यति उपयोगी साधन हुँदाहँुदै पनि विद्यार्थीहरुले विभिन्न गेम खेलेर, अनावश्यक कुराकानी गरेर, भिडियो हेरेर यसको दुरुपयोग गरी समय बिताईरहेको हुन्छ ।
खास गरी मोवाइल फोनमा झुण्डिरहने र यसको दुरुपयोग तथा गलत प्रयोग गर्नेमा विद्यार्थीहरु नै अगाडि देखिन्छ । अभिभावकले पनि आफ्ना छोराछोरीले मोवाइल फोनको गलत सदुपयोग गर्ने जस्तो देखिए मोवाइल नदिने र गलत प्रयोग गरेमा जफत गर्ने गर्नुपर्छ । मोवाइल किन्नुभन्दा पहिले अभिभावकले सन्तानको मानसिकतालाई बु्झेर मात्र मोबाईल किनिदिनुपर्छ । उनीहरुलाई मोबाईलको उचित सदुपयोग गर्न सिकाउनुपर्छ ।
यो विषय वर्तमान अवस्थामा गम्भिर बनेको छ । यसको बेलैमा विद्यार्थी लगायत शिक्षक, अभिभावक तथा सम्बन्धित निकाय सबैले ध्यान पु¥याउन जरुरी देखिन्छ ।



