काठमाण्डौं/१८ माघ– कोभिड– १९ का कारण बन्द रहेका हुम्ला जिल्लाका ७७ विद्यालयमा करिब दश महिनाको अन्तरालपछि पठन–पाठन सुरु भएको छ ।
गाउँपालिकाले कारोना महामारी न्यून हुंदै गएको भन्दै विद्यालय सुचारु गर्ने निर्णय गरे पश्चात् सो स्थानका विद्यालयहरुले कक्षा सञ्चालन गरी पठन–पाठन सुरु गरेका हुन् ।
हुम्लास्थित बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन ८० प्रतिशत भन्दा बढी विद्यार्थीको भौतिक उपस्थिती रहेको विद्यालयले जनाएको छ । साथै, कोरोना संक्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ब्यवस्था समेत विद्यालयले गरेको छ ।
फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु पर्नेमा कोरोनाको कारण हुन सकेन । तसर्थ, अब पठन–पाठनलाई तिब्रता दिने विद्यालयहरुले जनाएका छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला पठन–पाठन सुरु भएको हुँदा विद्यार्थीको उपस्थिती सन्तोषजनक रहेको भन्दै विद्यालयहरुले शुक्रवार समेत पूरा दिन पढाइ सञ्चालन गर्नेे निर्णय गरेका छन् । पठन–पाठन सुरु भएका अधिकाँश विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भएपनि सम्पर्कमा आई सकेको जनाइएको छ ।
यस अघि पुस १५ गतेबाट नै अदानचुली गाँउपालिकाका विद्यालयमा पठन–पाठन सुरु हुँदै आईरहेको छ भने अब तीनवटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन–पाठन सुरु गर्ने तयारी भई रहेको गाउँपालिकाले जनाएकाे छ ।