नेपालमा निजी विद्यालयको महत्व र विकास

आर.बी कट्वाल
उप–महासचिब,प्याब्सन
संस्थापक प्रिन्सिपल,नेक्सस इन्टरनेशनल एकेडेमी



नेपालको शैक्षिक विकास क्रमलाई हेर्ने हो भने राणाकाल भन्दा अगाडि र राणाकाल भन्दा पछाडि गरि दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । तर यसलाई पृथ्वी नारायण शाहको आधुनिक नेपाल एकीकरणलाई आधार मानेर पनि हेर्ने सकिन्छ । खास गरेर जंग बहादुरले बिक्रम सम्बत १९१० मा दरबार स्कुलको स्थापना गरे पश्चात नेपालमा शैक्षिक शिक्षालयको विकास भएको पाईन्छ ।
लिच्छवीकालिन र मल्लकालिन समयमा शिक्षाको आफ्नै ढांचा थियो । गुरुकुलीय परम्परा अनुसार शिक्षा आदान प्रदान गरिन्थ्यो । ती मध्य केही स्वतन्त्र र केही धार्मिक गुठी अन्तर्गत संचालित थिए । विशेष गरी चित्रकला, मूर्तिकला र दर्शन पढाइ हुन्थ्यो । धार्मिक गुठीअन्तर्गत संचालित बाहेक निजी वा स्वतन्त्र रुपमा संचालित गुरुकुल निजी शिक्षालय हुन् । आजको आधुनिक परिभाषाले नसमेटे पनि ऊ बेलाको गुरुकुलको प्रकृति निजी प्रकारको थियो ।
आधुनिक नेपालको एकीकरण पश्चात शिक्षा विकासले केही नयाँ मोड पायो । विज्ञलाई बाहिरबाट झिकाएर भए पनि युद्धकला, संस्कृत लगायतमा शिक्षा दिन थालियो । पछि युद्धमा मारिएका सिपाहीं र सेनाका टुहुरा छोराछोरीलाई शिक्षामा विशेष छात्रवृत्ति दिने चलनको सुरुवात गरियो ।
वि.स.१९१० सालमा जंगबहादुरले थापाथलीमा स्थापना गरेको दरबार स्कुल आफ्ना भाइभारदार र आफन्तलाई मात्र शिक्षा दिने गरी खोलिएको थियो । अंग्रेजी माध्यमको पढाइ हुने उक्त स्कुल सुरुवातमा निजी स्कुल नै हो । यद्यपि कसै कसैले यसको खण्डन पनि गरेको पाइन्छ । आजको कानूनी परिभाषाले त्यो बेलाको परिवेशलाई समेट्दा कुतर्क मात्र हुन्छ । पछि सर्वसाधारणलाई समेत खुल्ला गरी रानीपोखरीमा हालको स्थानमा सारिएको थियो । दरबार स्कुलका बारेमा अरु विषयमा मत बाझिए पनि नेपालमा शिक्षा विकासका आधारमा आधुनिक युगको सुरुवात भने यही स्कुलको स्थापना पश्चात सुरु भएकोमा इतिहासकार र विज्ञ एकमत देखिन्छन् ।
तर विडम्बनाको कुरा के भयो भने नेपालको कुनै पनि भूभागमा स्कुल खुलेनन् । सक्ने र सचेत त्यति बेला देश बाहिर स्कुल लगायत अन्य विश्वविद्यालयमा पढ्न जान्थे । आधारभूत शिक्षा भने उतैबाट पढेर आएका संग गाउँमै लिने चलन थियो । नेपालमा त्यो बेला स्कुल खोल्ने, पढ्ने कुरा तत्कालीन कानून विपरीत हुन्थे । त्यसैले, जान्ने बुझ्नेहरुले घरमै विद्यार्थी बोलाएर सामान्य लेखपढ गर्न सिकाउने चलन थियो । यो ढांचाको अनौपचारिक शिक्षा पनि निजी शिक्षा नै हो ।
पछि वि.स. १९७५ सालमा चन्द्र समशेरले त्रिचन्द कलेजको स्थापना गरे पछि स्थिति केही सहज भयो । राणाकालीन समयमा चन्द्र समशेर, देव समशेर, पद्मा समशेर लगायत केही उदार प्रधानमन्त्रीले शिक्षाको विकासमा केही टेवा पुर्याय । यद्यपि, देशभित्र शिक्षालयको अभावमा शिक्षाका नाममा देश बाहिर जाने चलन प्रजातन्त्र स्थापनाको झन्डै दुई दशक पछि सम्म पनि चलिरह्यो ।
इतिहासलाई हेर्ने हो भने समाजमा औपचारिक स्कुल र शिक्षा बन्देज हुँदा पनि निजी ढंगले संचालित अनौपचारिक शिक्षाले समाज विकासको प्रक्रियालाई गतिशीलता दिएको पाइन्छ । राणाकालीन समयमा पनि शिक्षाका लागि विदेशिनु पर्ने बाध्यतालाई यस्ता अनौपचारिक निजी शैक्षिक गतिविधिले धेरै राहत दिएको देखिन्छ ।
वि.स. २००७ सालमा प्रजातन्त्र स्थापना पश्चात वि.स. २०१० सालमा शिक्षा विधान निर्माण गरी शिक्षाको योजनावद्ध विकासका लागि पहल सुरु गरियो । निश्चित लक्षसहित गाउँगाउँमा स्कुल स्थापना गर्न थालियो । पंचायती व्यवस्था सुरु भए पछि शिक्षालाई व्यवस्थाअनुकुल हुने गरी सुरु गरियो । सोही अनुरुप वि.स. २०२३ सालमा शिक्षा नियमावली सार्वजनिक गरियो । क्रमश वि.स. २०२५ र २०२७ सालमा जारी भएको शिक्षा ऐन २०२८ मा कार्यान्वयन सुरु गरियो । शिक्षा नियमावली २०२८ आज पनि संशोधित अवस्थामा जारी छ ।
तर, यो बीचमा षडानन्द अधिकारीले २०२० सालमा भोजपुरमा स्थापना गरेको संस्कृत स्कुल ग्रामीण क्षेत्रमा शिक्षा विकासका दृष्टिकोणले कोशेढुंगा साबित भएको छ । केही फरक मत देखिए पनि उक्त समय षडानन्द अधिकारीले स्थापना गरेको उक्त स्कुल निजी स्कुल थियो । पछि गुठीमा परिणत भयो ।
वि.स.२०३७ सालमा कानूनी रुपमै निजी विद्यालय खोल्न पाउने व्यवस्था लागू भयो । पछि यसलाई खारेज गरियो । वि.स. २०४८ सालमा निजी क्षेत्रको पहिलो विश्व विद्यालय काठमाडौँ विश्वविध्यालयको स्थापना भयो । वि.स. २०४९ सालमा शिक्षा ऐन सातौँ शंशोधन मार्फत निजी र सार्वजनिक स्कुल दुवैको प्रावधान खुला गरे पछि नेपालमा निजी स्कुलको ह्वात्तै विकास भएको पाइन्छ । वि.स. २०४९ साल देखि हालसम्म थुप्रै उतारचढावका बीच निजी स्कुल अघि बढेका छन् ।
हालको अवस्थालाई अध्ययन गर्ने हो भने करिब ६ खर्ब लगानी सहित आठ हजार निजी विद्यालय देशभर संचालित छन् । झन्डै दुई लाख बढी शिक्षक कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको निजी क्षेत्रसँग कुल विद्यार्थी संख्याको करिब २३ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । सन् २०१७ मा तत्कालीन शिक्षा विभागले गरेको राष्ट्रिय सर्वेक्षणका आधारमा बनेको फ्ल्याश रिपोर्ट हेर्ने हो भने सामुदायिक स्कुलमा कक्षा १–५ सम्म झन्डै ३३ लाख १२ लाख विद्यार्थी भर्ना हुँदा निजीमा सोही समुहमा ६ लाख ५७ हजार विद्यार्थी भर्ना भएका छन् । सरकारी तथ्यांकले निजी उपस्थितिलाई केही कमजोर देखाए पनि निजी स्कुल प्रतिको आम अभिभावकको बढ्दो आकर्षण र सार्वजनिक स्कुलको निरन्तर ओरालोलाग्दो गतिले निजी स्कुलको वास्तविक उपस्थिति अझ बलियो रहेको प्रष्ट देखिन्छ ।
देशले एक दशक लामो गृहयुद्द झेल्दै गर्दा शिक्षा क्षेत्रमा ठुलो संकट देखियो । निजी स्कुल आफैं एक गम्भीर समस्यामा देखिए । तर, आफ्नो अस्तित्वमै आँच आउने विविध समस्यालाई चिर्दै त्यस्तो संकटका बीच पनि शिक्षा क्षेत्रको संवेदनशीलता र आफ्नो उत्तरदायित्व मनन गर्दै निजी स्कुलले ठुलो जिम्मेवारी निर्वाह गरेका छन् । झन्डै दुई दशक शिक्षा आयोग खुल्न सकेन । सार्वजनिक स्कुलमा शिक्षकको पदपूर्ति, विद्यालय व्यवस्थापन लगायतका अनेकौं समस्याका कारण सार्वजनिक स्कुल खस्कंदै गएको सन्दर्भमा निजी स्कुल शैक्षिक गुणस्तरका लागि प्रतिवद्ध भएर उभिए । निरन्तर राष्ट्र र समाजलाई शिक्षाका माध्यमबाट अगाडि बढाउने जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै गए । यसैको फलस्वरुप निजी स्कुल आज आम अभिभावकको विश्वास जितेर राष्ट्रलाई ठुलो योगदान दिन सफल भएका छन् ।
निजी स्कुलले त्यसै अभिभावकको मन जितेका होइनन् । निजी स्कुलका संचालक, व्यवस्थापक, शिक्षक तथा सबै कर्मचारी विद्यार्थी तथा अभिभावकप्रति उत्तरदायी हुन्छन् । विनम्र हुन्छन्, गुनासा तथा प्रतिक्रिया सुन्छन् र सकेको जिम्मेवारी बोध गर्दछन् । विद्यालय, विद्यार्थी, अभिभावक तथा समाजप्रति जवाफदेही हुन्छन् ।
विद्यार्थीको सिकाइप्रति निजी स्कुलले सधै चासो र चिन्ता लिने गर्दछन् । विद्यार्थीको चौतर्फी विकासका लागि हरेक गतिविधि गर्दै कुनै पनि कसूर बाँकी राख्दैनन् । यसैको फलस्वरुप निजी स्कुलले राष्ट्रिय बोर्ड परीक्षा होस् वा अन्य कुनै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतियोगिता होस् सबैमा आफूलाई अब्बल साबित गर्दै आएका छन् । एसईई परीक्षाको विगत र वर्तमानको मूल्यांकन गर्ने हो भने शिक्षाको सवालमा राज्यको साख र प्रतिष्ठा नै निजी स्कुलले बचाएको देखिन्छ । त्यति मात्र नभएर राष्ट्रिय तथा अन्तर्रािष्ट्रय जगतका प्राय हरेक क्षेत्रमा निजी स्कुलकै उत्पादन अग्रपंक्तिमा पुगेको दृष्टान्त प्रशस्त मात्रामा देखिन्छन् ।
आज हरेक कुरामा विश्वमा परिवर्तन देखिन्छ । हिंजो भन्दा आज कसरी नयाँ आविष्कार गर्न सकिन्छ भनेर वैज्ञानिक अध्ययनरत छन् । प्रविधिको विषयमा त हरेक पल नयाँ नयाँ प्रयोग र आविष्कार हुन थालेका छन् । पचास वर्ष अगाडि हामीले हेर्ने टेलिभिजन आजको जस्तो थिएन । हामीले प्रयोग गर्ने स्मार्ट फोन आज यस्तो हुन्छ भन्ने कुरा बीस वर्ष अगाडि सोचिएको नै थिएन । प्रत्येक विषयमा नयाँ परिष्कृत रुप, आयाम, आविष्कार तथा प्रयोग भेटिन्छ ।
एक्काइसौँ शताब्दीका प्रमुख आवश्यकता, यसको रफ्तार र गतिशीलतालाई पक्रन सोही किसिमको जनशक्ति निर्माण गर्न सक्नु पर्छ । हामीले दिएको शिक्षा समयसापेक्ष भएन, विद्यार्थीलाई नयाँ ज्ञान सिक्ने भोक जगाएन, नयाँ कुराको खोज अनुसन्धान गर्ने तत्परता दिलाउन सकेन भने त्यो शिक्षाको महत्व रहँदैन । निजी स्कुल यो विषयमा अत्यधिक सचेत देखिन्छन् । कसरी हिजो भन्दा आज नयाँ सोचका साथ् काम गर्न सकिन्छ भन्ने विषयमा गम्भीर देखिन्छन् । आफूलाई आफैंसँग प्रतिष्पर्धी बनाउंदै विश्वस्तरको शिक्षा दिलाउन निजी स्कुल सफल देखिएकाले नेपालजस्तो विकासशील मुलुकमा निजी स्कुलको विकल्प देखिन्न ।
हाल आएर निजी स्कुल प्रति विभिन्न बहानामा निरुत्साहित गर्ने गरी गतिविधि बढेको देखिन्छ । निजी स्कुललाई समाप्त पार्ने खेलमा केही पक्ष खुलेर लागेको देखिन्छ । यसले राज्य आफैंलाई फाइदा नहुने निश्चित छ । शिक्षा जस्तो संवेदनशील विषयमा सतही रुपमा सोचेर अघि बढ्दा वा नीति बनाउँदा ठूलो दुर्घटना हुन सक्दछ । आम अभिभावकले रुचाएको, माया गरेको, विश्वास गरेको निजी स्कुललाई चलाउँदा जनताको ठूलो धनराशी शिक्षाको नाममा विदेशिने सम्भावना रहन्छ । अन्ततः यो राज्यकै लागि नोक्सान हो ।
शिक्षा नै विकासको मुख्य आधार हो । समृद्धिको अपरीहार्य खुड्कीलो हो । यो आधारको सबै भन्दा बलियो जग नै निजी स्कुल बनेका छन् । यस सन्दर्भमा निजी स्कुल निर्विकल्प हुन् र रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *