काठमाडौं/२ भदौ-शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न काठमाडौंका विभिन्न विद्यालयको अवलोकन सुरु गरेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था, पठनपाठनको स्थिति, विद्यालय व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको अवलोकन गर्ने अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत मन्त्री पोखरेलले काठमाडौंका चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय प्रशासन, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले विद्यालयको समग्र अवस्था, पठनपाठनको स्थिति, विद्यार्थीका समस्या तथा विद्यालय सुधारका लागि आवश्यक पहलका विषयमा जानकारी लिएका थिए ।
अवलोकनका क्रममा मन्त्री पोखरेलले विद्यालयमा देखिएका समस्या तथा सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राख्ने बताए ।
मन्त्री पोखरेलले अवलोकन गरेका विद्यालयहरूमा बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र श्री बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालय रहेका छन् ।
मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको वास्तविक अवस्था पहिचान गरी देखिएका समस्या समाधान, आवश्यक सुधार तथा प्रभावकारी समन्वयका लागि विद्यालय अवलोकन अभियानलाई देशभर निरन्तरता दिइनेछ ।



