काठमाडौँ /२७ साउन – आर्टिफिसियल इन्टेलिजन्स (एआई) को तीव्र विकास र च्याटजीपिटी जस्ता प्रविधिहरूको सहज पहुँचले विश्वव्यापी रूपमा उच्च शिक्षाको परम्परागत स्वरूपलाई गम्भीर प्रश्नको घेरामा उभ्याइदिएको छ । विश्वविद्यालयहरूमा विद्यार्थीको ज्ञान, विश्लेषणात्मक क्षमता र मौलिकता मापन गर्ने परम्परागत साधनका रूपमा गृहकार्य, अनुसन्धानात्मक निबन्ध र लिखित असाइनमेन्टहरू प्रयोग हुँदै आएका थिए। तर एआईका कारण क्षणभरमै परिष्कृत, भाषागत रूपमा शुद्ध र विषयवस्तुसँग मिल्दोजुल्दो सामग्री तयार हुन थालेपछि शिक्षा क्षेत्रमा एउटा ठूलो हलचल पैदा भएको छ । सुरुवाती चरणमा यस समस्याको समाधानका रूपमा एआई डिट्याक्टर जस्ता औजारहरूको व्यापक प्रयोग गरियो। तर, तिनको विश्वसनीयतामाथि उठेका प्रश्न, गलत दाबी र भाषागत विभेदका कारण विश्वभरका विश्वविद्यालयहरू ती डिट्याक्टर प्रयोग नगर्ने वा बन्द गर्ने निष्कर्षमा पुगेका छन् । यसले विश्वविद्यालयहरूलाई चोरी समात्ने प्रविधिभन्दा पनि शिक्षण विधि र मूल्याङ्कन प्रणाली नै रूपान्तरण गर्न बाध्य बनाएको छ ।
नेपाली उच्च शिक्षाको यथार्थ र एआईको आगमन
अन्तर्राष्ट्रिय जगतमा एआई र शिक्षाको अन्तरसम्बन्धलाई लिएर नीतिगत, शिक्षणशास्त्रीय र प्राविधिक तहमा व्यापक बहस भइरहँदा नेपाली उच्च शिक्षा भने अझै पनि अन्योल र सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत नेपालका प्रमुख शैक्षिक संस्थाहरू अझै पनि परम्परागत परीक्षा प्रणाली र असाइनमेन्टमा निर्भर छन् । नेपाली विश्वविद्यालयहरूमा एआईको प्रवेशलाई न त स्पष्ट नीतिगत रूपमा आत्मसात् गर्न सकिएको छ, न त यसलाई रोक्ने कुनै ठोस संयन्त्र नै निर्माण हुन सकेको छ। नेपाली कक्षाकोठाहरूमा विद्यार्थीहरूले एआई औजारहरूको प्रयोग तीव्र रूपमा बढाएका छन् । तर हाम्रा प्राध्यापक तथा शैक्षिक प्रशासकहरू भने यस प्रविधिका सम्भावना र जोखिम दुवैप्रति पर्याप्त रूपमा सचेत र प्रशिक्षित देखिँदैनन् । यसले गर्दा नेपालको उच्च शिक्षामा प्राज्ञिक ईमानदारी र मूल्याङ्कनको वस्तुनिष्ठतामाथि ठूलो प्रश्नचिह्न खडा भएको छ ।
एआई डिट्याक्टरको असफलता र नेपाली सन्दर्भ
विश्वभर एआई डिट्याक्टरहरूलाई अविश्वासिलो मानिएर त्याग्न थालिएको सन्दर्भ नेपालका लागि झन् बढी सान्दर्भिक र संवेदनशील छ । पहिलो कुरा, एआई डिट्याक्टरहरू मुख्यतः अङ्ग्रेजी भाषामा आधारित छन् र तिनीहरूले गैर–मातृभाषी (ल्यल–लबतष्खभ भ्लनष्किज कउभबपभचक) विद्यार्थीहरूले लेखेका मौलिक लेखहरूलाई पनि प्रायः एआई–उत्पादित भनी गलत ठहर गर्ने गर्दछन्। नेपाली विद्यार्थीहरू, जसका लागि अङ्ग्रेजी दोस्रो वा तेस्रो भाषा हो, उनीहरूको व्याकरण र वाक्य गठनको सीमितताका कारण डिट्याक्टरहरूले उनीहरूलाई बढी शङ्काको घेरामा पार्ने जोखिम रहन्छ । दोस्रो कुरा, नेपालका धेरैजसो विश्वविद्यालयहरूसँग एआई डिट्याक्टरका महँगा सफ्टवेयर खरिद गर्ने आर्थिक र प्राविधिक क्षमता नै छैन । जसले फाट्टफुट्ट रूपमा निःशुल्क वा सस्ता डिट्याक्टर प्रयोग गरिरहेका छन्, तिनले झनै भ्रामक नतिजा प्राप्त गरिरहेका छन्। त्यसैले, एआई डिट्याक्टरको पछि लागेर प्राज्ञिक सजाय दिने बाटो नेपालका लागि कानुनी, नैतिक र व्यावहारिक कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन ।
असाइनमेन्ट संस्कृतिको सङ्कट र प्राज्ञिक विचलन
नेपालका विश्वविद्यालयहरूमा पछिल्ला वर्षहरूमा सेमेस्टर प्रणाली लागू भएसँगै ’अन्तर्राष्ट्रिय मापदण्ड’ का नाममा असाइनमेन्ट संस्कृति भित्रियाइयो। तर, यो संस्कृति धेरैजसो ठाउँमा ’कट–कपी–पेस्ट’ मा सीमित हुन पुग्यो। एआईको आगमनअघि विद्यार्थीहरूले इन्टरनेटबाट सामग्री चोरेर वा पुराना असाइनमेन्ट सारेर बुझाउने गर्थे भने अहिले एआईको सहयोगमा केही सेकेन्डमै पूर्ण असाइनमेन्ट तयार पारिरहेका छन् । हाम्रो शिक्षण प्रणालीले विद्यार्थीलाई मौलिक विचार निर्माण गर्न, विश्लेषणात्मक सोधखोज गर्न र स्थानीय सन्दर्भलाई जोडेर अध्ययन गर्न प्रेरित गर्नुभन्दा पनि तोकिएको पाना भर्ने कार्यलाई प्राथमिकता दियो । यसले गर्दा एआईको दुरुपयोग नेपालमा झन् तीव्र बन्यो। जब शिक्षण विधिले नै घोकन्ते वा सतही ज्ञानलाई बढावा दिन्छ, तब विद्यार्थीहरूले असाइनमेन्ट पूरा गर्ने सबैभन्दा सजिलो बाटोका रूपमा एआईलाई रोज्नु स्वाभाविक बन्न पुग्छ ।
मूल्याङ्कन प्रणालीको पुनर्संरचना र स्थानीय सन्दर्भ
विश्वव्यापी रूपमा एआई डिट्याक्टरको विकल्पका रूपमा ’असाइनमेन्टको पुनःसंरचना’ र ’प्रक्रियागत मूल्याङ्कन’को अवधारणा अघि सारिएको छ । नेपालको सन्दर्भमा यो अवधारणा झन् बढी अपरिहार्य देखिन्छ । हाम्रा असाइनमेन्टहरू सिद्धान्तका पाना भर्ने खालका नभई नेपाली समाज, संस्कृति, अर्थतन्त्र र स्थानीय समस्याहरूसँग प्रत्यक्ष जोडिने हुनुपर्छ । उदाहरणका लागि, एआईले भाषाको सैद्धान्तिक ज्ञान वा सामान्य परिभाषा सजिलै दिन सक्छ, तर नेपालको सुदूरपश्चिम वा कर्णालीको कुनै गाउँको सामाजिक–आर्थिक अवस्था वा स्थानीय विद्यालयको कक्षाकोठाको यथार्थबारे गहन र मौलिक विश्लेषण गर्न सक्दैन । त्यसैले, प्राध्यापकहरूले विद्यार्थीलाई स्थानीय सन्दर्भ, प्रत्यक्ष अन्तर्वार्ता, क्षेत्रगत अध्ययन र आफ्नै अनुभवमा आधारित प्रश्नहरू सोध्ने परिपाटी बसाल्नुपर्छ । यसले एआईको अन्धाधुन्ध नक्कललाई स्वतः निरुत्साहित गर्छ ।
प्रक्रियागत सिकाइ र मौखिक मूल्याङ्कनको आवश्यकता
अन्तिम नतिजा वा तयार भएको कागजातलाई मात्र हेरेर अङ्क दिने परम्परागत मूल्याङ्कन शैली अब काम नलाग्ने भइसकेको छ। प्राध्यापकहरूले विद्यार्थीले असाइनमेन्ट तयार पार्दाका विभिन्न चरणहरूको अनुगमन गर्ने संयन्त्र बनाउनु आवश्यक छ । विद्यार्थीले सुरुमा तयार पारेको खाका, सङ्कलन गरेका स्रोतहरू, र पहिलो मस्यौदा बुझाउनुपर्ने व्यवस्था गर्दा उनीहरूको सिकाइ प्रक्रिया पारदर्शी हुन्छ । यसका साथै, नेपाली उच्च शिक्षामा मौखिक परीक्षा, कक्षाकोठामै गरिने प्रत्यक्ष छलफल र प्रस्तुतीकरणलाई मूल्याङ्कनको मुख्य आधार बनाइनुपर्छ । विद्यार्थीले बुझाएको असाइनमेन्ट उसैले लेखेको हो वा एआईले तयार पारेको हो भन्ने कुरा ५–१० मिनेटको प्रत्यक्ष अन्तरक्रिया वा मौखिक प्रश्नोत्तरबाट प्राध्यापकले सजिलै पहिल्याउन सक्छन् । यसले विद्यार्थीलाई विषयवस्तुको गहिरो अध्ययन गर्न बाध्य बनाउँछ ।
प्राध्यापकहरूको क्षमता विकास र प्राविधिक पूर्वाधार
नेपालमा एआईको चुनौतीसँग जुध्नका लागि सबैभन्दा ठूलो बाधा प्राध्यापकहरूको प्राविधिक र डिजिटल साक्षरताको कमी हो । हाम्रा धेरैजसो प्राध्यापकहरू अझै पनि परम्परागत व्याख्यान विधिमै आधारित छन् र एआई कसरी काम गर्छ भन्नेबारे अनभिज्ञ छन्। जबसम्म प्राध्यापकहरू स्वयं एआईका औजारहरूसँग परिचित हुँदैनन्, तबसम्म उनीहरूले न त यसको दुरुपयोग रोक्न सक्छन्, न त शिक्षणमा यसको रचनात्मक प्रयोग नै गराउन सक्छन्। विश्वविद्यालयहरूले प्राध्यापकहरूका लागि एआई साक्षरता, प्रविधिमैत्री शिक्षणशास्त्रीय तालिम र आधुनिक मूल्याङ्कन विधिसम्बन्धी कार्यशालाहरू निरन्तर सञ्चालन गर्नुपर्छ। प्रविधिसँग डराउने वा यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन खोज्ने मानसिकताबाट मुक्त भई प्राध्यापकहरू आफैँ प्रविधिका मार्गदर्शक बन्नु आजको आवश्यकता हो ।
एआईलाई प्रतिबन्ध होइन, नैतिक र रचनात्मक प्रयोगको नीति
एआईलाई कक्षाकोठा र विश्वविद्यालयबाट पूर्ण रूपमा रोक्न खोज्नु भनेको हावाको बहावलाई हातले रोक्न खोज्नु जस्तै हो । यो सम्भव पनि छैन र व्यावहारिक पनि छैन । अबको आधुनिक कार्यक्षेत्रमा एआई औजारहरूको दक्षता अनिवार्य जस्तै भइसकेको छ । त्यसैले, नेपाली विश्वविद्यालयहरूले विद्यार्थीलाई एआईबाट टाढा राख्ने होइन, बल्कि यसको नैतिक, जिम्मेवार र रचनात्मक प्रयोग कसरी गर्ने भनेर सिकाउनुपर्छ । एआईलाई विचार उत्पन्न गर्ने, व्याकरण सुधार्ने, वा अनुसन्धानका लागि प्रारम्भिक दिशा खोज्ने ’सहयोगी औजारका रूपमा प्रयोग गर्न दिइनुपर्छ । तर अन्तिम विश्लेषण, निष्कर्ष र मौलिक सोच भने विद्यार्थीकै हुनुपर्छ । विश्वविद्यालयहरूले स्पष्ट ’एआई प्रयोग नीति’ तर्जुमा गरी कुन हदसम्मको प्रयोग प्राज्ञिक मानिने र कुन प्रयोग चोरी वा अनुशासनहीनता मानिने भन्ने सीमा रेखा प्रष्ट पार्नुपर्छ ।
नीतिगत शून्यता र राज्यको भूमिका
नेपालको शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोग यस विषयमा अहिलेसम्म मौन र उदासीन देखिन्छन् । अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक नीतिहरू द्रुत गतिमा परिमार्जन भइरहँदा नेपालमा भने शैक्षिक निकायहरू परम्परागत ढाँचामै रुमल्लिएका छन्। राज्य र विश्वविद्यालय नेतृत्वले उच्च शिक्षामा एआईको प्रभावबारे राष्ट्रिय स्तरको बहस चलाउनु आवश्यक छ । केन्द्रीय स्तरबाटै एआईको नैतिक प्रयोग, मूल्याङ्कन प्रणालीको परिमार्जन र प्राज्ञिक ईमानदारी कायम राख्नेसम्बन्धी एकीकृत दिशानिर्देश जारी गरिनुपर्छ । साथै, दूरदराजका क्याम्पसहरूमा इन्टरनेट र प्रविधिको असमान पहुँचले सिर्जना गरेको डिजिटल विभाजनलाई सम्बोधन नगरी लागू गरिने जुनसुकै नीतिले समानता ल्याउन सक्दैन । त्यसैले भौतिक तथा डिजिटल पूर्वाधारको विकासमा राज्यले लगानी बढाउनु पर्छ ।
निष्कर्ष
एआई डिट्याक्टरहरूको असफलताले विश्वव्यापी रूपमा शिक्षा प्रणालीलाई आफ्नो पुरानो ढर्राबाट बाहिर निस्कन बाध्य पारेको छ । नेपाली उच्च शिक्षाका लागि यो सङ्कट मात्र नभई एउटा ठूलो अवसर पनि हो । लामो समयदेखि घोकन्ते विद्या, नक्कलमा आधारित असाइनमेन्ट र केवल वार्षिक परीक्षामा सीमित रहेको हाम्रो शिक्षा प्रणालीलाई रचनात्मक, विश्लेषणात्मक र जीवनोपयोगी बनाउने यो उपयुक्त समय हो । एआईले हामीलाई मानिसको मौलिक सोच, आलोचनात्मक चेत र मानवीय संवेदनाको महत्त्व कति छ भन्ने कुरा पुनः स्मरण गराइदिएको छ। एआई डिट्याक्टरको पछि लागेर विद्यार्थीलाई शङ्का र सजायको दृष्टिले हेर्नुको सट्टा, शिक्षण विधि र असाइनमेन्टको ढाँचामै आमूल परिवर्तन ल्याउनु पर्छ । जब नेपाली विश्वविद्यालयहरूले स्थानीय सन्दर्भ, प्रक्रियागत सिकाइ र प्रत्यक्ष अन्तरक्रियालाई मूल्याङ्कनको केन्द्रमा राख्नेछन्, तब मात्र एआईको चुनौतीलाई माथ दिँदै प्राज्ञिक गुणस्तर र मौलिकताको रक्षा गर्न सकिनेछ ।
(लेखक सोबन सिंह धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हुन् ।)



