पेरिस/३ कार्तिक – फ्रान्समा विद्यार्थी आन्दोलनसँगै चर्किएको जनप्रदर्शन र हिंसात्मक घटनापछि सरकारले विभिन्न सहरका केही क्षेत्रमा आंशिक रात्रिकालीन कर्फ्यू लागू गरेको छ ।
शिक्षाको गुणस्तरमा सुधार, विद्यालयको कमजोर पूर्वाधार तथा बढ्दो महँगीको विरोधमा सुरु भएको प्रदर्शन पछिल्लो समय देशव्यापी आन्दोलनमा परिणत भएको हो । प्रदर्शनका क्रममा केही स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
फ्रान्सको राजधानी पेरिसमा रिपब्लिक स्क्वायर र लेस आल क्षेत्र आसपास रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाइएको थियो । लिल, लियोँ र निसलगायतका सहरमा पनि स्थानीय अवस्थाअनुसार आंशिक कफ्र्यू तथा प्रदर्शनसम्बन्धी प्रतिबन्ध लागू गरिएको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आवश्यक परेका क्षेत्रमा कर्फ्यू थप विस्तार गर्न सकिने बताएका छन् । सरकारले सार्वजनिक सुरक्षा कायम गर्दै हिंसात्मक गतिविधि नियन्त्रण गर्ने जनाएको छ ।
यता, विद्यार्थी सङ्गठनहरूले विद्यालयमा पर्याप्त स्रोतसाधन, शिक्षामा सुधार र विद्यार्थीका समस्याको समाधान माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन् । बढ्दो इन्धन मूल्य र जीवनयापन खर्चप्रतिको असन्तुष्टिले पनि प्रदर्शनलाई थप व्यापक बनाएको छ ।
कर्फ्यू लागू गरिएका क्षेत्रमा रातिको अवस्था केही शान्त बने पनि आगामी दिनमा थप प्रदर्शन हुन सक्ने भन्दै फ्रान्सेली प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।



