फ्रान्स (पेरिस)/२ कार्तिक – फ्रान्समा शिक्षकको अभाव, जीर्ण विद्यालय भवन, कक्षाकोठामा विद्यार्थीको अत्यधिक चाप र शैक्षिक स्रोतसाधनको कमीविरुद्ध विद्यार्थी आन्दोलन चर्किएको छ। देशका विभिन्न सहरमा विद्यार्थीहरूले प्रदर्शन गर्दै सार्वजनिक शिक्षाको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् ।
रोयटर्सका अनुसार, सन् २०२६ अक्टोबर १३ मा फ्रान्सभरि भएको प्रदर्शनमा एक लाख ६१ हजारभन्दा बढी मानिस सहभागी भएका थिए । आन्दोलनमा विद्यार्थीका साथै शिक्षक तथा विभिन्न श्रमिक सङ्गठनका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन् ।
विद्यार्थीहरूले विद्यालयमा पर्याप्त शिक्षकको व्यवस्था गर्न, जीर्ण भवन मर्मत गर्न, कक्षाकोठामा विद्यार्थीको चाप घटाउन र पढाइका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन माग गरेका छन् । विशेषगरी आर्थिक रूपमा कमजोर क्षेत्रका विद्यालयमा शिक्षक अभाव र भौतिक पूर्वाधारको समस्या बढी रहेको प्रदर्शनकारीहरूको भनाइ छ ।
आन्दोलन बढ्दै गएपछि फ्रान्सेली सरकारले समस्या समाधानका लागि करिब तीन हजार योग्य शिक्षक परिचालन गर्ने आपत्कालीन योजना घोषणा गरेको छ । सरकारले शिक्षकको अभाव भएका विद्यालयलाई प्राथमिकता दिएर आवश्यक जनशक्ति उपलब्ध गराउने जनाएको छ । तर विद्यार्थी सङ्गठनहरूले सरकारी घोषणापछि पनि आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
यसैबीच, केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विद्यालय तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । आन्दोलनका क्रममा प्रहरीको बल प्रयोग र प्रदर्शनकारीमाथिको कारबाहीलाई लिएर पनि विवाद बढेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अक्टोबर १८ मा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड र हिंसाको निन्दा गर्दै विद्यार्थी, शिक्षक, राजनीतिक प्रतिनिधि र श्रमिक सङ्गठनसँग छलफल गरेर समाधान खोज्ने बताएका छन् ।
शिक्षा क्षेत्रमा पर्याप्त लगानी, शिक्षकको उपलब्धता र समान शैक्षिक अवसर सुनिश्चित गर्नुपर्ने मागसहित अघि बढेको यस आन्दोलनले फ्रान्सको सार्वजनिक शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । सरकारले अघि सारेका योजनाले विद्यार्थीका माग कत्तिको सम्बोधन गर्छन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ ।
विभिन्न अन्लाईन समचारका आधारमा तयार पारिएको छ ।



