काठमाडौँ /८ असोज – केही दिनअघि साँझतिर एउटा शिक्षा सम्बन्धित टेलिभिजन कार्यक्रम हेर्दै थिएँ, जसमा दुई जना वरिष्ठ प्राध्यापकले शिक्षण पद्धतिका विषयमा गम्भीर मन्थन गरिरहनु भएको थियो । संवादको क्रममा एक जना प्राध्यापकले सोध्नुभयो, “हामी कक्षाकोठामा केवल पढाउँदै छौँ, कि प्रभावकारी सञ्चारको माध्यमबाट विद्यार्थीलाई साँच्चै सिकाउँदै छौँ ?“ उहाँको यो गहन प्रश्नले मेरो ध्यान निकै बेर तानिरह्यो र हाम्रा कक्षाकोठाका वर्तमान अवस्थाबारे मलाई गहिरिएर सोच्न बाध्य बनायो । वास्तवमा शिक्षण एउटा त्यस्तो पेसा हो, जहाँ आफूसँग कति ज्ञान छ भन्ने भन्दा पनि त्यो ज्ञान विद्यार्थीसम्म कसरी पु¥याइन्छ भन्ने कुराले बढी महत्त्व राख्छ । शिक्षकले विद्यार्थीसामु जति नै गहन विषयवस्तु राखे पनि, त्यहाँ आत्मीय सम्बन्ध र प्रभावकारी सञ्चार नभएसम्म त्यो शिक्षण अधुरै रहन्छ ।
हाम्रो राष्ट्रिय शिक्षा नीति र विद्यालय क्षेत्र सुधार कार्यक्रमहरूले पनि बालकेन्द्रित र समावेशी शिक्षणविधिलाई निरन्तर जोड दिँदै आएका छन् । तर व्यवहारमा भने अझै पनि पाठ्यक्रम सिध्याउनु वा विषयवस्तुको ज्ञान बाँड्नुलाई नै सफलताको कसी मानिने परिपाटी कायम छ । कक्षाकोठामा सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता सञ्चारका आधारभूत सीपहरू सबल नभएसम्म न त शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न सक्छन्, न त विद्यालय समुदायसँग सामञ्जस्यपूर्ण सम्बन्ध नै स्थापित गर्न सक्छन् । शिक्षण पेसामा प्रभावकारी सञ्चार किन र कसरी अपरिहार्य छ भन्नेबारे यहाँ मुख्य छ वटा आयामहरू समेटिएका छन् :
१. स – सम्बोद्धन (सिकाइमा उत्साह : बालबालिकासँगको दोहोरो सञ्चार)
विद्यार्थीलाई स्पष्ट रूपमा सूचना दिन र उनीहरूलाई सिक्न प्रेरित गर्नु शिक्षकको सञ्चार कौशलको पहिलो कसी हो । जब शिक्षकले विद्यार्थीका कुरा धैर्यपूर्वक सुन्छन् र सम्मानजनक व्यवहार गर्छन्, तब मात्र विद्यार्थीका आवश्यकता, भावना, क्षमता र सिकाइका चुनौतीहरू बुझ्न सहज हुन्छ । नेपालका बहुभाषिक र सामाजिक रूपमा विविध कक्षाकोठाहरूमा शिक्षकको सकारात्मक र समावेशी सञ्चारले विद्यार्थीमा रहेको डर वा हिचकिचाहट हटाउँछ र उनीहरूलाई सक्रिय रूपमा सहभागी हुन हौसला दिन्छ । यसले क्रमशः राम्रो शैक्षिक प्रगतिको बाटो पनि खोल्छ ।
२. स – सहकार्य (अभिभावक–शिक्षक सम्बन्ध)
अभिभावकहरूसँग नियमित र स्पष्ट सञ्चार हुनु आजको आवश्यकता हो । फोन, व्यक्तिगत भेटघाट, अभिभावक–शिक्षक बैठक (पिटिए), अथवा डिजिटल माध्यम जस्तै व्हाट्सएप वा भाइबरमार्फत विद्यार्थीको प्रगतिबारे मौखिक तथा लिखित रूपमा जानकारी गराउनुपर्छ । यसका लागि शिक्षकमा मौखिक र लिखित दुवै किसिमको सञ्चारमा आत्मविश्वास हुनु जरुरी छ । जब अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक र व्यक्तिगत विकासमा शिक्षकसँग सहकार्य गर्छन्, तब विश्वासको सम्बन्ध बन्छ र सिकाइ थप प्रभावकारी बन्दै जान्छ ।
३. स – सञ्जाल (शिक्षक–शिक्षक संवाद)
विद्यालय आफैंमा एक व्यावसायिक सिकाइ समुदाय (Professional Learning Community) हो, जहाँ शिक्षकहरू एकअर्कासँग सिक्दै र सिकाउँदै अघि बढ्छन् । पाठ योजना बनाउँदा, विद्यार्थीको प्रगतिको समीक्षा गर्दा, कक्षाकोठाका चुनौती समाधान गर्दा वा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा सहकर्मीहरूसँगको निरन्तर छलफल आवश्यक हुन्छ । शैक्षिक बैठक, तालिम र व्यावसायिक छलफलहरूमा आफ्ना विचार प्रस्टसँग राख्ने र अरूका विचार खुला मनले सुन्ने बानीले विद्यालयमा सहकार्य र सामूहिक जिम्मेवारीको वातावरण निर्माण गर्छ ।
४. स – समन्वय (प्रशासनिक समन्वय)
विद्यालयको नीति–नियम, शैक्षिक योजना, कक्षाका चुनौती र विद्यार्थीका समस्याबारे प्रधानाध्यापक वा व्यवस्थापनसँग नियमित सञ्चार गर्नु व्यावसायिक जिम्मेवारीकै अंश हो। स्पष्ट, आदरपूर्ण र व्यावसायिक संवादले आफ्ना विचार, चिन्ता र सुझावहरू प्रभावकारी ढंगले आदानप्रदान गर्न मद्दत पु¥याउँछ । दिइएका निर्देशनहरू ध्यानपूर्वक सुन्ने, अस्पष्ट कुरामा स्पष्टता खोज्ने र आवश्यक पर्दा रचनात्मक प्रतिक्रिया दिने बानीले प्रधानाध्यापकसँग पारस्परिक समझदारी बढाउँछ र विद्यालय सञ्चालनलाई सहज तथा अनुशासित बनाउँछ ।
५. स – सङ्गठन (शैक्षिक मञ्चमा सहभागिता)
शिक्षकहरू पेसागत सञ्जाल, शैक्षिक समूह तथा अनलाइन सिकाइ मञ्चहरूमा जोडिनु आजको समयको माग हो । यसले आफ्ना अनुभव साझा गर्न, नयाँ शिक्षण प्रविधि र पद्धतिबारे सिक्न तथा पेसागत विकासका थप अवसरहरू प्राप्त गर्न सहयोग पु¥याउँछ । पेसागत समूहहरूसँगको सकारात्मक अन्तक्र्रियाले सहकार्य, निरन्तर सिकाइ र क्षमता अभिवृद्धिलाई प्रोत्साहन दिन्छ, जुन आजको परिवर्तनशील शिक्षा प्रणालीमा शिक्षकका लागि झनै आवश्यक बन्दै गएको छ ।
६. स – सद्भाव (आदर र कार्यस्थलको वातावरण)
विद्यालय भनेको शिक्षक र विद्यार्थीमात्र होइन, त्यहाँ काम गर्ने लेखा, प्रशासन, पुस्तकालय, सवारी चालक, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायत सम्पूर्ण सहयोगी कर्मचारीहरूको समेत उत्तिकै महत्त्व हुन्छ । विद्यालय सुचारु रूपमा चल्नका लागि यी सबैसँगको मर्यादित सम्बन्ध आवश्यक छ । आफ्ना आवश्यकताहरू स्पष्ट र सम्मानजनक ढंगले राख्ने तथा हरेक कर्मचारीको कामलाई सम्मान दिने बानीले विद्यालयमा सौहार्दपूर्ण र सहयोगात्मक कार्य वातावरण तयार हुन्छ ।
निष्कर्ष
उत्कृष्ट शिक्षण ज्ञानबाट सुरु हुन्छ, तर दिगो र गहिरो सिकाइ भने प्रभावकारी सञ्चारबाट मात्र सम्भव हुन्छ । ज्ञान जति नै फराकिलो भए पनि, त्यसलाई विद्यार्थी, अभिभावक, सहकर्मी र समग्र विद्यालय समुदायसम्म पु¥याउने साधन सञ्चार नै हो । नेपाली शिक्षा प्रणालीलाई आधुनिक, समावेशी र बालमैत्री बनाउने दिशामा प्रत्येक शिक्षकले आफ्नो सञ्चार कौशललाई निरन्तर परिमार्जन गर्दै लैजानु आजको समयको सबैभन्दा ठूलो आवश्यकता हो । किनभने अन्ततः, राम्रो शिक्षकले पढाउँछन्, तर महान् शिक्षकले जोड्छन् ।
(लेखक विनोद दुवाडी हाल अङ्ग्रेजी शिक्षा (English Education) मा पीएचडी अनुसन्धानरत हुनुहुन्छ । उहाँको अनुसन्धान रुचि विशेषतः ठूला कक्षाकोठामा लेखन सीप विकासका लागि कृत्रिम बौद्धिकताको एकीकरण तथा प्रभावकारी शिक्षण रणनीतिमा केन्द्रित छ । उहाँले विभिन्न शैक्षिक तथा शिक्षक तालिमहरूमा सहजकर्ताका रूपमा सहभागी हुँदै कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण विधि तथा विद्यार्थीको सक्रिय सहभागिता सम्बन्धी तालिम प्रदान गर्दै आउनुभएको छ ।)



