काठमाडौं /६ असोज – शिक्षा तथा खेलकुद मन्त्रालय, विद्यालय शिक्षा शाखाले राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकहरूमाथि निगरानी तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।
मन्त्रालयले पछिल्ला केही दिनमा बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको सम्बन्धमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको भन्दै सो निर्देशन दिएको हो ।
शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी व्यवस्थासँग सम्बन्धित विषय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन समेत भनेको छ ।
साथै आचारसंहिता उल्लंघन गरेको पुष्टि भएमा शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न समेत भनिएको छ ।



