कैलाली/३० भदौ – कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियन्त्रणमा लिइएको थियो । उनलाई दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
बमले समिति सदस्यको पदीय हैसियतमा रही जिम्मेवारी बहन गर्ने क्रममा बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ गरी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आयोगको भनाई छ ।
साथै बमलाई दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।



