नैतिक शिक्षा : नीतिमा भन्दा विद्यालय, घर र समाजबाट सिकाउनुपर्ने सुझाब

काठमाडौँ /१६ भदौ – विद्यालयका विद्यार्थीहरूलाई शिक्षा मन्त्रालयले नीतिमा राखेर भन्दा पनि कक्षाकोठा, घर तथा समाजबाट नैतिक शिक्षा दिनुपर्ने सरोकारवाला तथा शिक्षाविद्हरूले सुझाब दिएका छन् ।


शिक्षा नियमावलीको दसौँ संशोधनमा पोसाक वा साजसज्जा सम्बन्धी मापदण्ड पालना नगरेको वा शुल्क नतिरेको जस्ता कारणले विद्यार्थीलाई अपमानित गर्ने, सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, जबरजस्ती कपाल काट्ने वा कटाउन लगाउने, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार (मेकअप) वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने, लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने तथा निजको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने कुनै कार्य वा व्यवहार गर्न नहुने उल्लेख गरेको संकेत गर्दै सो सुझाब दिएका हुन् ।


खबर एजुकेशनले आयोजना गरेको “नैतिक शिक्षा : नीतिमा, पाठ्यक्रममा वा कक्षाकोठामा ? ” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नियमावलीमा यस्ता विषय राख्दा विद्यालय र अभिभावकलाई झन समस्या हुने गरेको, बालबालिकाले शिक्षक र अभिभावकले भनेको मान्ने भन्दा पनि अधिकारका कुरा बढी गर्ने गरेकोले समाधान भन्दा पनि झन समस्या थपिएको बताए ।


उनिहरूले यस्ता सवालमा नीतिमा राखेर भन्दा पनि विद्यालय, अभिभावक र समाज सबै मिलेर विद्यार्थीहरूलाई असल आचरणका कुरा सिकाउनु पर्ने र नैतिक शिक्षामा जोड् दिने वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड् दिए ।

पछिल्लो समय प्रविधि र डिजिटल सामग्रीको प्रयोग विद्यार्थीहरूमा बढ्दै गएकोले चुनौतीहरू पनि थपिदै गएको चिन्ता व्यक्त गर्दै यस्ता विषयमा नीतिमा भन्दा पनि कक्षाकोठा, घर र समाजबाटै क्रमशः सुधार गर्नुपर्नेमा जोड् दिएका छन् । उनिहरूले यसका लागी शिक्षा मन्त्रालय र विभिन्न निकायहरूको सहकार्यमा अगाडी बढ्न सकिए मात्रै प्रभावकारी हुने सुझाब दिए ।

घरको शिक्षा पुस्तकका लेखक, पत्रकार तथा अभिभावक शिक्षाका प्रशिक्षक दामोदर न्यौपानेले नैतिक शिक्षा नीतिमा, पाठ्यक्रममा र कक्षाकोठामा चाहिने उल्लेख गर्दै विशेष गरेर कक्षाकोठालाई ल्याब नै बनाउनुपर्ने बताए । नैतिक शिक्षाका बारेमा कक्षाकोठामा अभ्यास नहुँदा समस्या हुने गरेको उनको भनाई छ ।


एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले नैतिक शिक्षालाई पाठ्यक्रममा राख्दैमा व्यवहारमा परिवर्तन नआउने बताउँदै सकारात्मक सोच निर्माण गर्न सकिए प्रभावकारी हुने विचार व्यक्त गरे । विद्यार्थीलाई रीति रिवाज, मौलिकतामा जोड्दिए नैतिक शिक्षा त्यही बाट सुरुवात हुने र यसका लागी शिक्षकले पनि कोर्स सक्नका लागी मात्रै पढाउने भन्दा पनि सिकाउनका लागी पढाउनु पर्ने बताए ।


नेपाल अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले अहिले हामीले के सिकायौँ ? के सिक्दै छौँ ? भन्ने कुरालाई ख्याल गर्दै जीवन र जगतसँग जोडेर व्यवहारिक शिक्षा दिन आवश्यक रहेको विचार व्यक्त गरे । मानिस सामाजिक प्राणी भएकोले पनि नैतिक शिक्षा पाठ्यक्रममा मात्रै राखेर नहुने उल्लेख गर्दै समाजबाटै राम्रो संस्कार सिक्ने हुनाले जागरण र चेतना ल्याउनुपर्नेमा जोड् दिए ।


नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नैतिक शिक्षाको विषय बहुआयामिक भएकोले समस्याको समाधान पनि बहुआयामिक रूपमा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले फरक फरक परिवेश अनुसार फरक फरक समस्या हुने भएकाले एकै पटकमा भन्दा पनि विस्तारै क्रमशः सुधार गर्दै लैजानुपर्नेमा जोड् दिए ।


“अहिले विद्यार्थीको सिकाई संसारबाट भएको छ । बसाई एकै ठाउँमा छ । सिकाई संसारको बसाई यहीको समाजमा भएको हुँदा सोच्ने र बस्ने मापदण्डपनि नभएकोले समस्या आएका छन् ” उनले भने ।


महिला शिक्षक समाज तथा नीलवाराही माविकी प्रधानाध्यापक डा.जानुका नेपालले नैतिक शिक्षाका सन्दर्भमा बोल्दै समस्या विद्यार्थीमा मात्रै नभएर शिक्षक र अभिभावकमा पनि रहेको बताईन । सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकहरूमा जीविकोपार्जन गर्न समेत समस्या हुने गरेको उल्लेख गर्दै यसले विद्यार्थीलाई नैतिक शिक्षा दिन झन चुनौती रहेकोले यति तिर पनि ध्यान दिन आवश्यक भएको विचार व्यक्त गरिन् ।


नैतिक शिक्षालाई पाठ्यक्रममा नराखी घरदेखि विद्यालय, कक्षाकोठा र हरेक विषयसँग जोड्न सके त्यसैले पुग्ने उनको भनाई छ । शिक्षकले कक्षाकोठामा पाठ सक्ने भन्दा पनि सिकाउन जरुरी रहेको र त्यसका लागी शिक्षकलाई तालिमको व्यवस्था गर्न आवश्यक रहेको बताइन ।


बाल विशेषज्ञ सानु अमात्यले नीति भित्रको नियतमा प्रस्ट हुन आवश्यक रहेको बताउँदै नैतिक शिक्षा कुनै विषय वा सिद्धान्त नभएकोले गर्भ देखिनै परिवार र समाजमा आउने कुरालाई नैतिक शिक्षा सिकाउन आवश्यक रहेको बताइन ।


स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलकी प्रिन्सिपल नेहा केसीले अहिलेका बालबालिकाले एआईको प्रयोग गर्ने भएकोले डिजिटल शिक्षा दिन आवश्यक विचार व्यक्त गरिन । उनले अभिभावक तथा शिक्षकले एउटा कुरा सिकाउने तर बालबालिकाले डिजिटलको माध्यमबाट अर्को कुरा सिक्ने भएकोले यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड् दिइन ।


प्यब्सन केन्द्रका पूर्व अध्यक्ष डिके ढुङ्गानाले सरकारले बनाएका नीतिले व्यवहारिक शिक्षामा कति काम गरेको छ भन्ने कुरा हेर्न आवश्यक रहेको बताउँदै समाजबाट नै नैतिक शिक्षा सिकाउनुपर्ने बताए । उनले यस्ता खालका कानुन निर्माण गर्दा कार्यान्वयनको अवस्था कस्तो हुन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक रहेकोले शिक्षा मन्त्रालयले प्राथमिकताका साथ हेर्नुपर्ने सुझाब दिए ।


प्रशिक्षक तथा शिक्षक कुमार थापाले नैतिक शिक्षाका सवालमा पाठ्यक्रममा नभई कक्षकोठा सँग जोडेर जान सकिए मात्रै त्यो प्रभावकारी हुने बताए । उनले विद्यार्थीलाई नैतिक शिक्षा सिकाउन कक्षाकोठा, अभिभावकसँग मात्रै नभई प्रविधिको प्रयोगका बारेमा सिकाउन जरुरी रहेकोमा जोड् दिए ।


न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्यालले मानवीयताको सेन्समा रहेर कसरी सिकाएका छौँ भन्ने कुरा महत्वपूर्ण रहेकोले विद्यालयले नै यसको नेतृत्व गर्नुपर्ने विचार व्यक्त गरिन । अर्यालले नैतिक शिक्षा विद्यार्थीलाई सिकाउनका लागी किताब वा पाठ्यक्रम भन्दा पनि विद्यालय, घर र समाजले रोलमोडल बनेर सिकाउनु आवश्यकता रहेको औँल्याइन ।


सुदेशा स्कुलकी प्रिन्सिपल विरंगना महर्जनले हरेक बालबालिकाले फरक फरक विकासका चरणहरू पार गर्ने भएकाले प्रारम्भिक कक्षादेखि नै उनिहरूलाई यसबारेमा सिकाउन आवश्यकता हरेको बताइन । विद्यार्थीहरूलाई साना कक्षाबाट साना साना कुरामा के गर्ने वा के नगर्ने जस्ता कुरामा सिकाउँदै क्रमशः ल्याउनु पर्ने उनको भनाई छ ।


इम्पेरियल वल्र्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले विद्यार्थीलाई नैतक शिक्षा सिकाउने सवालमा नीति, ऐन वा पाठ्यक्रममा समस्या छ भन्ने भन्दा पनि त्यसको कार्यान्वयन र प्रयोगमा समस्या रहेको विचार व्यक्त गरिन । शिक्षामा नीति आवश्यक भएपनि नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउँदै अवधारणामा काम गरे मात्रै यसले सार्थकता पाउने बताइन ।


प्यब्सन केन्द्रका महासचिव आरबी कटुवालले पाठ्यक्रममा समावेश गरिएको नैतिक शिक्षालाई सबै विद्यालयले कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे । पछिल्लो शिक्षा नियमावलीको दसौँ संशोधनमा राखिएका केही विषयमा गलत तरिकारले बुझाइएकोले विद्यालयलाई समस्या भईरहेको बताउँदै त्यसलाई शिक्षा मन्त्रालयले संशोधन गर्न आवश्यक रहेको सुझाब दिए ।


बुक ल्याण्डका निर्देशक सुदेश डोटेलले पछिल्लो समय विद्यार्थीहरूमा पठन संस्कृति हराउँदै गएको एक अनुसन्धानले देखाएको उदाहरण दिँदै ७८ प्रतिशत विद्यार्थीले विद्यालयका किताब भन्दा बाहिरका किताब पढ्ने बानी नरहेको बताए । उनले बालबालिकालाई पठन संस्कृतिको विकास गर्न सकिए त्यसले ज्ञान र नैतिक शिक्षा दुबै दिन थप सहयोग गर्ने विचार व्यक्त गरे ।


शिक्षाविद् मेदीन लामिछानेले नैतिक शिक्षाको सवालमा हाम्रा संस्थाहरूमा नैतिक भैदिए, नेतृत्वमा नैतिकता भैदिए र प्रणाली वा व्यवहारमा नैतिकता भैदिए नैतिक शिक्षाको आवश्यकता नै नहुँने औँल्याए । उनले अहिलेको पुस्तामा फरक सोच भएकोले अघिल्लो पुस्ताले स्वीकार गरेको कुरा नबुझी स्वीकार नगर्ने उल्लेख गर्दै प्रणाली नै नैतिक बनाइयो भने मात्रै त्यसले काम गर्ने सुझाब दिए ।


शिक्षाविद् डा. मीनाक्षी दाहालले नीतिले कडा निर्देशन दिँदैमा त्यसले सबै काम गर्छ भन्नु गलत भएकोले समाजमा फरक फरक व्यक्तिका फरक फरक भूमिका रहेकोले व्यक्ति आईडल बनिदिए त्यसले बालबालिकाको आचरणमा परिवर्तन ल्याउने बताइन । दाहालले नैतिक शिक्षाका लागी युवाहरूको मनोविज्ञान र संवेगका सवालमा परामर्श दिन सकिए परिवर्तन ल्याउन सम्भावना भएको विचार व्यक्त गरिन ।


शिक्षा मन्त्रालयका सहसचिव शिव कुमार सापकोटाले नैतिक शिक्षाको सन्दर्भमा नेपाली समाजको परिवेशमा कसरी जाने भन्ने विषयमा बृहत् छलफल गर्न आवश्यक रहेको उल्लेख गर्दै विभिन्न विकल्प खोजेर समस्याको समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सोकारवाला तथा विज्ञहरूले उठाएका सवालमा बोल्दै नैतिक शिक्षाको कोर भ्यालुलाई एउटा प्याराडाईमबाट हेर्ने र कुनै एउटा बिन्दुमा निर्णय गरेर यसलाई कार्यान्वयनमा लैजान सकिने बताए ।


साथै नैतिक शिक्षालाई पाठ्यक्रममै राखेर जाँदा यसले प्रभावकारी भूमिका खेल्न सक्ने बताउँदै यसबारेमा मन्त्रालयमा छलफल भईरहेको जानकारी दिए ।