विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

काठमाडौँ /८ असोज – शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाएको छ ।


एसईएसपीको पहिलो पाँच वर्षको ‘कस्टेड प्रोग्राम’को चालु आर्थिक वर्ष कार्यान्वयनको अन्तिम वर्ष रहेकाले बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा गर्न लागिएको हो ।


यसैक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बिहीबार मन्त्रालयमा शिक्षा क्षेत्रका विज्ञ, योजनाविद् तथा मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीबीच छलफल भएको छ ।


बाँकी पाँच वर्षको कार्यक्रम तर्जुमाका लागि पहिलो चरणमा ‘स्ट्राटेजिक सेक्टर एनालाइसिस’ गरिने र त्यसपछि कार्यक्रम डिजाइन गर्ने तयारी छ । सोहीअनुसार पहिलो चरणको कामका लागि शिक्षा क्षेत्रका विज्ञ तथा मन्त्रालय र मातहतका निकायका प्रतिनिधिबीच संयुक्त छलफल सुरु गरिएको मन्त्रालयले जनाएको छ ।


यसअघि विकास साझेदारका तर्फबाट फोकल तथा कोफोकल प्रतिनिधिसँग मन्त्रालयले बुधबार छलफल गरेको थियो ।


बिहीबारको छलफलमा डा. मीनबहादुर विष्ट, डा. कमल पोखरेल, डा. लवदेव अवस्थीलगायत विज्ञ सहभागी थिए । बैठकमा आगामी पाँच वर्षका शिक्षा क्षेत्रका कार्यक्रम, प्राथमिकता र कार्यान्वयन प्रक्रियाबारे छलफल भएको थियो ।


मन्त्रालयले आगामी पाँचवर्षे योजना निर्माणका लागि एक महिनाभित्र सम्पन्न गर्नुपर्ने कामको कार्ययोजना तयार गर्न विज्ञहरूलाई कार्यादेश दिएको छ ।


शिक्षा सचिव पौडेलले आगामी पाँच वर्षको योजनासँगै त्यसपछिको अवस्थालाई समेत दृष्टिगत गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले योजनामा नयाँ विषय समावेश गर्नुपर्ने बताउँदै ‘क्रसकटिङ इस्यु’ तथा थप्न सकिने विषय पहिचान गरी समेट्नुपर्ने धारणा राखे ।


योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गरेर योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार नयाँ योजनाले विद्यालय शिक्षामा सरकारका प्राथमिकताअनुसार नयाँ कार्यक्रम तय गर्नेछ भने प्रभावकारी रूपमा सञ्चालन भइरहेका चालु कार्यक्रमलाई आवश्यकताअनुसार निरन्तरता दिनेछ ।