भोटेकोशी बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

काठमाडौं /८ असोज – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले रु. २० करोड ८९ लाखभन्दा बढी सहयोग गरेको जनाएको छ ।


प्याब्सनले आज पत्रकार सम्मेलन गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो रकम सरकारलाई हस्तान्तरण गरिएको जनाएको हो ।


प्याब्सनले विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै २०८३ भदौ ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।


सङ्कलित रकममध्ये १२ करोड अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको, ३ करोड ३९ लाख २ हजार ९७० शिक्षामन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।


त्यसैगरी बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड छुट्याइएको जनाइएको छ । साथै प्याब्सन सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको रकम ३ करोड ५० लाख रहेको विज्ञप्तिमा जनाइएको छ ।


यसरी प्याब्सनको अभियानअन्तर्गत असोज ७ गतेसम्म सङ्कलित तथा राहत प्रयोजनका लागि छुट्याइएको कुल रकम २० करोड ८९ लाख २ हजार ९७० पुगेको विवरणमा उल्लेख छ ।