एउटै विद्यालयका २ सय बढी विद्यार्थी बाढीले बगाएको प्रअको भनाई

रसुवा/१६ भदौ – भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका करिब २ सय विद्यार्थी बाढीले बगाएको अनुमान गरिएको छ ।


विद्यालयका प्रधानाध्यापक माधव प्रसाद लामिछानेका अनुसार विद्यालय सुरक्षित रहेपनि विद्यालय आउनका लागी सडकमा निस्किएका धेरै विद्यार्थी बाढीका कारण गुमाउन परेको जानकारी दिए ।


यसैगरी विद्यालयका तीन जना शिक्षक अजय कुमार यादव, इसिडी शिक्षक मनमाया तामाङ र विद्यालय नर्स ममता श्रेष्ठको अवस्था अहिलेसम्म पत्ता नलागेको र एक जना शिक्षक नारायण बहादुर थापाको शव फेला परेर सनाखत भएको बताए ।


यसैगरी विद्यालयका कुल ५ सय ८ जान विद्यार्थी मध्ये बाढी आएको दिन करिब २५० विद्यार्थी विद्यालयमा आईसकेको बताउँदै खाल्टे, नौबिसे र वेत्रावती क्षेत्रबाट विद्यार्थी विद्यालय आउनका लागी सडकमा निस्किने समयमा बाढी आएकोले धेरै विद्यार्थी गुमाउनु परेको उनको भनाई छ ।


उनले भने “बाढी आएको समयमा विद्यार्थी विद्यालय आउन घरबाट सडकमा निस्किने समय भएको थियो । कोही विद्यार्थी बसमा र धेरै विद्यार्थी सडकको बाटो हुँदै विद्यालय आउने गर्थे । त्यही समयमा बाढी आउँदा कक्षा १ देखि ५ सम्मका धेरै विद्यार्थी गुमाएका छौँ ।”
बसले साना बालबालिकालाई एउटै सिटमा ३/४ जान राखेर ल्याउने गरेको बताउँदै त्यो दिन विद्यार्थीलाई बस लिन जानै नभ्याए पछि बस कुर्न सडकमा निस्किएका कक्षा १ देखि ५ सम्मका धेरै विद्यार्थी गुमाएको बताए ।


बाढीबाट सुरक्षित रहेका केही विद्यार्थीहरू होल्डिङ सेन्टरमा रहेका छन् भने केही आफन्तको सरणमा गएको लामिछानेले जानकारी दिए । सुरक्षित रहेका विद्यार्थी मध्येपनि ७०/७२ जना विद्यार्थीले आफ्ना बाबु आमा तथा परिवारका सबै सदस्य गुमाएको अवस्था रहेको उनको भनाई । उनले त्यस्ता बालबालिकालाई छिटै संरक्षण सहित घरको व्यवस्थापन गरेर वा बस्ने व्यवस्थापन गरेर विद्यालय फर्काउन सकिए मानसिक स्वास्थ्य राम्रो बनाउन सकिएने बताउँदै त्यसका लागी केही संस्थाहरूसँग कुरा भईरहेको जानकारी दिए ।