अटिजम भएका बालबालिकालाई अलग कक्षाको सट्टा समावेशी शिक्षामा जोड्दिन आग्रह

काठमाडौँ /९ वैशाख – अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।


अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेदसम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।


अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन् । अटिजम भएका कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने तालिमका प्रशिक्षक एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहले बताए ।


अटिजमसहितको अवस्था देखिनुमा कुनै एकमात्र कारण हालसम्म एकिन हुन नसकेको बताउँदै उनले वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिएका जानकारी दिए ।


“यसका सङ्केतहरू प्रायः बालबालिका ६ देखि १२ महिना हुँदा देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिकामध्ये एक जनामा अटिजम हुने तथ्याङ्क सार्वजनिक गरेको छ”, प्रशिक्षक शाहले भने ।


अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको देखिए पनि अनुसन्धानकर्ताका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो ।


“अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्थामध्येको एक अवस्था हो । सामाजिक अवरोधलाई हटाई, स्वीकारोक्ति र समतासहितको समावेशी वातावरणले अटिजमसहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ”, शाहले भने ।


उनका अनुसार व्यवहार थेरापी, बोल्ने (स्पिच) थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ । हाल संसारभरि कसैको दया, माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजमसहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्र रूपमा उठिरहेको प्रशिक्षक शाहले बताए ।


शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायतासहित समावेशी शिक्षा, सिकाइ र सहयोगको पहुँचलाई महत्व दिइएको छ । आजको दिनमा अटिजमलाई समस्याका रूपमा भन्दा पनि न्यूरो–विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको उनको भनाइ छ ।