प्रअसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ /९ बैशाख – विद्यालयको रकम हिनामिनाको आरोपमा प्रअसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । यसैगरी कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी विरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ ।


उनिहरुलाई प्रविधिमैत्री कक्षा कोठा निर्माणमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेकोले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप छ ।


आर्थिक वर्ष २०७८÷७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत खरिद गरिएको सामग्रीमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।