काठमाडौँ /१२ साउन – नेपालमा अङ्ग्रेजी भाषा शिक्षा आज केवल एउटा विषयको शिक्षणमा सीमित छैन। यो गुणस्तरीय शिक्षा, रोजगारी, उच्च शिक्षा, अन्तर्राष्ट्रिय अवसर, सूचना प्रविधि, अनुसन्धान तथा सामाजिक प्रतिष्ठासँग जोडिएको बहुआयामिक क्षेत्र बनेको छ। पछिल्ला दुई दशकमा निजी विद्यालयहरूको विस्तार, सार्वजनिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमको बढ्दो प्रयोग, वैदेशिक अध्ययनप्रतिको आकर्षण, सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास तथा विश्वव्यापीकरणले अङ्ग्रेजी भाषाको प्रभावलाई अभूतपूर्व रूपमा विस्तार गरेको छ । आज अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई अङ्ग्रेजी माध्यम विद्यालयमा पढाउन चाहन्छन् भने विश्वविद्यालयहरूले पनि अनुसन्धान, प्रकाशन र अन्तर्राष्ट्रिय सहकार्यका लागि अङ्ग्रेजीलाई प्रमुख माध्यमका रूपमा प्रयोग गरिरहेका छन् ।
तर, यस लोकप्रियतासँगै केही गम्भीर प्रश्नहरू पनि उठिरहेका छन् । के अङ्ग्रेजी माध्यमले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्छ ? बहुभाषिक नेपालमा मातृभाषा, नेपाली र अङ्ग्रेजीबीच सन्तुलन कसरी कायम गर्ने ? नीति निर्माण र कक्षाकोठाको वास्तविक अभ्यासबीच किन यति ठूलो दूरी छ? ग्रामीण र सहरी विद्यालयबीच गुणस्तरमा किन असमानता छ ? कृत्रिम बुद्धिमत्ताले भाषा शिक्षाको स्वरूप कसरी परिवर्तन गरिरहेको छ? यस्ता प्रश्नहरूको उत्तर खोज्नु अहिलेको आवश्यकता बनेको छ ।
यसै सन्दर्भमा सन् २०२५ मा राम आशीष गिरी र लक्ष्मण ज्ञवालीको सम्पादनमा प्रकाशित द ह्यान्डबुक अफ इङ्लिस ल्याङ्ग्वेज एजुकेसन इन नेपालः पोलिसिज, प्रोग्राम्स एन्ड प्रोस्पेक्ट्स ले नेपालको अङ्ग्रेजी भाषा शिक्षालाई इतिहास, भाषा नीति, बहुभाषिकता, शिक्षक शिक्षा, समावेशिता, प्रविधि र भविष्यका सम्भावनाका दृष्टिले गहिरो विश्लेषण गरेको छ । नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका विद्वानहरूका अनुसन्धानमूलक लेखहरू समेटिएको यस ग्रन्थले नेपालको अङ्ग्रेजी भाषा शिक्षालाई केवल विदेशी भाषा शिक्षणको विषयका रूपमा नभई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक परिवर्तनसँग जोडिएको शैक्षिक अभियानका रूपमा चित्रण गरेको छ ।
नेपालमा अङ्ग्रेजी भाषा शिक्षाको ऐतिहासिक यात्रा
नेपालमा अङ्ग्रेजी शिक्षाको औपचारिक इतिहास आधुनिक शिक्षाको विकाससँगै सुरु भएको मानिन्छ। राणा शासनको उत्तरार्धमा दरबार स्कुल स्थापना भएपछि अङ्ग्रेजी शिक्षाले संस्थागत स्वरूप लिन थालेको थियो । त्यसबेला अङ्ग्रेजी शिक्षा सीमित शासक तथा उच्च वर्गका लागि मात्र उपलब्ध थियो । प्रजातन्त्रको स्थापना र विद्यालय तथा विश्वविद्यालयहरूको विस्तारसँगै अङ्ग्रेजी शिक्षा क्रमशः सर्वसुलभ बन्दै गयो ।
वि.सं. २०४७ पछि उदारीकरण, निजी विद्यालयहरूको तीव्र वृद्धि, वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय शिक्षाको विस्तारले अङ्ग्रेजीको सामाजिक र आर्थिक महत्त्वलाई अझ बढायो । पछिल्ला वर्षहरूमा धेरै सामुदायिक विद्यालयहरूले पनि अङ्ग्रेजी माध्यम अपनाउन थालेका छन् । यसको प्रमुख कारण अभिभावकको बढ्दो अपेक्षा, निजी विद्यालयसँगको प्रतिस्पर्धा तथा विश्वव्यापी अवसरप्रतिको आकर्षण हो ।
यद्यपि, अङ्ग्रेजी शिक्षाको विस्तार देशभर समान रूपमा भएको छैन। काठमाडौंजस्ता सहरी क्षेत्रका विद्यालय र हिमाल, पहाड तथा तराईका दुर्गम क्षेत्रका विद्यालयबीच स्रोत, शिक्षक, प्रविधि, सिकाइ वातावरण र शैक्षिक उपलब्धिमा अझै ठूलो अन्तर देखिन्छ । यही असमानताले नेपालको अङ्ग्रेजी भाषा शिक्षाको गुणस्तरलाई चुनौती दिएको छ ।
भाषा नीति र अङ्ग्रेजी शिक्षाको बदलिँदो दिशा
नेपालको संविधानले सबै भाषाको सम्मान गर्दै मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । नेपालीलाई राष्ट्रभाषाका रूपमा स्थापित गर्दै अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय सम्पर्क, उच्च शिक्षा, अनुसन्धान र विश्वव्यापी सञ्चारको महत्त्वपूर्ण भाषाका रूपमा व्यवहार गरिँदै आएको छ । राष्ट्रिय शिक्षा नीति, विद्यालय शिक्षा पाठ्यक्रम तथा विभिन्न आयोगका प्रतिवेदनहरूले बहुभाषिक शिक्षा, समावेशी शिक्षा र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेका छन् ।
तर, नीति निर्माण र व्यवहारिक कार्यान्वयनबीच उल्लेखनीय अन्तर देखिन्छ। धेरै विद्यालयले अङ्ग्रेजी माध्यम घोषणा गरे पनि त्यसका लागि आवश्यक शिक्षक तयारी, पाठ्यसामग्री, भाषिक वातावरण र स्रोतसाधनको पर्याप्त व्यवस्था गर्न सकेका छैनन् । परिणामस्वरूप कागजमा तयार गरिएका नीतिहरू कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
राउटलेजबाट प्रकाशित उक्त पुस्तकले पनि यही पक्षलाई नेपालको अङ्ग्रेजी भाषा शिक्षाको सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याएको छ । पुस्तकका अनुसार भाषा नीति प्रगतिशील देखिए पनि स्थानीय तहमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, शिक्षक तयारीको अभाव, कमजोर संस्थागत क्षमता तथा स्थानीय भाषिक यथार्थलाई पर्याप्त महत्त्व नदिनु मुख्य समस्या हुन् । यसबाट स्पष्ट हुन्छ कि नीति सफल बनाउन दस्तावेज मात्र पर्याप्त हुँदैन; त्यसका लागि दक्ष शिक्षक, स्थानीय सन्दर्भअनुकूल पाठ्यक्रम, पर्याप्त स्रोतसाधन तथा प्रभावकारी अनुगमन आवश्यक हुन्छ ।
अङ्ग्रेजी माध्यम शिक्षाः उपलब्धि कि चुनौती ?
नेपालमा पछिल्लो दशकमा सबैभन्दा बढी बहस भएको विषयमध्ये अङ्ग्रेजी माध्यमबाट शिक्षण पनि एक हो। धेरै अभिभावक र विद्यालयले अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको पर्यायका रूपमा बुझ्ने गरेका छन् । वास्तवमा अङ्ग्रेजी माध्यमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय ज्ञान, उच्च शिक्षा, अनुसन्धान तथा रोजगारीका अवसरसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। विज्ञान, सूचना प्रविधि, चिकित्सा, व्यवस्थापन तथा अनुसन्धानका अधिकांश स्रोत अङ्ग्रेजी भाषामा उपलब्ध भएकाले यसको उपयोगिता अस्वीकार गर्न सकिँदैन ।
तर, अङ्ग्रेजी माध्यम अपनाउनु मात्र पर्याप्त हुँदैन। विषयवस्तुमा दक्ष भए पनि अङ्ग्रेजी भाषामा पर्याप्त क्षमता नभएका शिक्षकहरूले अङ्ग्रेजी माध्यमबाट प्रभावकारी शिक्षण गर्न कठिनाइ अनुभव गर्छन् । विद्यार्थीले पनि विषयवस्तु बुझ्नुभन्दा भाषासँग संघर्ष गर्नुपर्ने अवस्था आउँछ ।
नेपालका धेरै विद्यालयमा अङ्ग्रेजी माध्यम औपचारिक घोषणामा सीमित भएको देखिन्छ। कक्षाकोठामा शिक्षकले नेपाली र अङ्ग्रेजी दुवै भाषा मिसाएर पढाउने, विद्यार्थीले नेपालीमा सोचेर अङ्ग्रेजीमा उत्तर लेख्ने तथा परीक्षा–केन्द्रित शिक्षणलाई प्राथमिकता दिने प्रवृत्ति अझै व्यापक छ । यसले भाषिक दक्षता र विषयगत बुझाइ दुवैमा नकारात्मक प्रभाव पारिरहेको छ ।
त्यसैले अङ्ग्रेजी माध्यमलाई लक्ष्य होइन, प्रभावकारी शिक्षणको माध्यमका रूपमा बुझ्नुपर्ने आवश्यकता छ । सफल अङ्ग्रेजी माध्यम शिक्षाका लागि शिक्षकको भाषिक दक्षता, विद्यार्थीको तयारी, उपयुक्त पाठ्यक्रम, पर्याप्त स्रोतसाधन तथा निरन्तर व्यावसायिक सहयोग अपरिहार्य हुन्छ ।
बहुभाषिक नेपालमा अङ्ग्रेजीको स्थान
नेपाल संसारकै भाषिक रूपमा समृद्ध मुलुकमध्ये एक हो । यहाँ एक सयभन्दा बढी मातृभाषा बोलिन्छन् । यस्तो बहुभाषिक समाजमा अङ्ग्रेजीको भूमिकालाई सन्तुलित दृष्टिकोणबाट हेर्न आवश्यक छ ।
अङ्ग्रेजी भाषा नेपाली वा स्थानीय भाषाको प्रतिस्पर्धी होइन, बहुभाषिक समाजको एउटा महत्त्वपूर्ण भाषाका रूपमा हेर्न सकिन्छ । आज विश्वव्यापी रूपमा पनि एउटा भाषाले अर्को भाषालाई विस्थापित गर्छ भन्ने धारणाभन्दा विभिन्न भाषाहरू सहअस्तित्वमा रहन्छन् भन्ने अवधारणाले स्थान पाएको छ ।
यस सन्दर्भमा ‘नेपाली अङ्ग्रेजी’ को अवधारणालाई विशेष महत्त्व दिनु जरुरी छ । भारत, सिंगापुर, नाइजेरिया, फिलिपिन्स वा दक्षिण अफ्रिकामा जस्तै नेपालमा पनि स्थानीय संस्कृति, उच्चारण, भाषिक संरचना र सामाजिक अनुभवले प्रभावित अङ्ग्रेजीको आफ्नै पहिचान विकास भइरहेको छ । यसलाई त्रुटिपूर्ण अङ्ग्रेजीका रूपमा होइन, विश्व अङ्ग्रेजीको वैध स्थानीय स्वरूपमा रूपमा स्वीकार गर्नु आजको आवश्यकता हो ।
यसले शिक्षक र विद्यार्थी दुवैमा आत्मविश्वास बढाउने मात्र होइन, अङ्ग्रेजी सिकाइलाई स्थानीय समाज, संस्कृति र जीवनसँग जोड्ने अवसर पनि सिर्जना गर्छ । स्थानीय साहित्य, इतिहास, संस्कृति तथा समुदायका अनुभवलाई अङ्ग्रेजी शिक्षणमा समावेश गर्न सकिए भाषा सिकाइ अझ जीवनोपयोगी, अर्थपूर्ण र सान्दर्भिक बन्न सक्छ ।
शिक्षकको व्यावसायिक विकासः गुणस्तरीय अङ्ग्रेजी शिक्षाको आधार
कुनै पनि शिक्षा प्रणालीको सफलता अन्ततः शिक्षकको क्षमता, प्रतिबद्धता र निरन्तर सिकाइमा निर्भर हुन्छ । आधुनिक शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति होइनन् उनी सिकाइका सहजकर्ता, अनुसन्धानकर्ता, मार्गदर्शक तथा परिवर्तनका संवाहक हुन् ।
नेपालका अङ्ग्रेजी शिक्षकहरूले सीमित स्रोतसाधन, ठूलो विद्यार्थी सङ्ख्या, प्रशासनिक दबाब, प्रविधिमा असमान पहुँच तथा निरन्तर बदलिँदो पाठ्यक्रमजस्ता चुनौती सामना गरिरहेका छन् । यस्ता अवस्थामा प्रारम्भिक शिक्षक प्रशिक्षण मात्र पर्याप्त हुँदैन । निरन्तर व्यावसायिक विकास गुणस्तरीय शिक्षाको आधार बन्न आवश्यक छ ।
शिक्षक विकासका लागि अनुसन्धानमा आधारित शिक्षण अभ्यास, सहकर्मीबीचको सिकाइ, व्यावसायिक सिकाइ समुदायको निर्माण, डिजिटल साक्षरताको विकास, अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग सहकार्य, प्रतिबिम्बात्मक शिक्षण अभ्यास तथा स्थानीय सन्दर्भअनुकूल शिक्षण नवप्रवर्तनलाई विशेष महत्त्व दिनु जरुरी छ। शिक्षकलाई ज्ञान हस्तान्तरण गर्ने व्यक्तिबाट सिकाइको सहयात्री र अनुसन्धानमा आधारित निर्णय गर्ने पेशेवरका रूपमा विकास गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा), विश्वविद्यालयहरू तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले शिक्षकको व्यावसायिक विकासमा उल्लेखनीय योगदान दिइरहेका छन्। तर यस्ता अवसर सबै शिक्षकसम्म समान रूपमा पुग्न सकेका छैनन् । विशेषगरी ग्रामीण क्षेत्रका शिक्षकलाई अनुसन्धान, सम्मेलन, डिजिटल तालिम तथा अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालमा सहभागी गराउने दीर्घकालीन नीति आवश्यक देखिन्छ। शिक्षकको व्यावसायिक विकासलाई एकपटकको तालिममा सीमित नगरी आजीवन सिकाइको प्रक्रियाका रूपमा विकास गर्न सकिए मात्र नेपालको अङ्ग्रेजी भाषा शिक्षाले गुणस्तरीय रूपान्तरण हासिल गर्न सक्नेछ ।
कक्षाकोठाका अभ्यासः परम्पराबाट नवप्रवर्तनतर्फ
नेपालमा अङ्ग्रेजी भाषा शिक्षाको गुणस्तर मूल्याङ्कन गर्दा नीति वा पाठ्यक्रमभन्दा बढी महत्त्वपूर्ण पक्ष कक्षाकोठाको वास्तविक अभ्यास हो । पाठ्यक्रम आधुनिक र समयानुकूल भए पनि त्यसको प्रभावकारिता शिक्षकको शिक्षण शैली, सिकाइ वातावरण, विद्यार्थीको भाषिक पृष्ठभूमि, उपलब्ध स्रोतसाधन र मूल्याङ्कन प्रणालीमा निर्भर हुन्छ। पछिल्ला वर्षहरूमा नेपालका विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षण, सञ्चारमुखी भाषा शिक्षण, कार्यमा आधारित भाषा शिक्षण तथा परियोजनामूलक सिकाइजस्ता आधुनिक अवधारणाले विस्तारै स्थान पाउन थालेका छन्। यी विधिहरूले विद्यार्थीलाई निष्क्रिय श्रोता होइन, सक्रिय सिक्ने व्यक्तिका रूपमा विकास गर्ने लक्ष्य राख्छन्। यद्यपि, यस्ता नवीन शिक्षण पद्धतिहरू देशभर समान रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
विशेषगरी ग्रामीण तथा स्रोतसाधनको अभाव भएका विद्यालयहरूमा शिक्षकको कमी, ठूलो कक्षाकोठा, सीमित शैक्षिक सामग्री, समयको अभाव तथा परीक्षा–केन्द्रित संस्कृतिका कारण अझै पनि व्याख्यानमुखी र रटानमुखी शिक्षण हाबी छ । यस्तो अवस्थामा विद्यार्थीले अङ्ग्रेजी भाषालाई सञ्चार र सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा नभई परीक्षा उत्तीर्ण गर्ने विषयका रूपमा मात्र बुझ्ने प्रवृत्ति देखिन्छ । फलस्वरूप सुन्ने, बोल्ने, पढ्ने र लेख्ने चारै भाषिक सीपको सन्तुलित विकास हुन सकिरहेको छैन ।
त्यसैले अब कक्षाकोठालाई शिक्षक–केन्द्रितबाट विद्यार्थी–केन्द्रित, परीक्षा–केन्द्रितबाट सिकाइ–केन्द्रित तथा पाठ्यपुस्तक–केन्द्रितबाट अनुभव–केन्द्रित बनाउने दिशामा रूपान्तरण गर्न आवश्यक छ । स्थानीय कथा, संस्कृति, समुदाय, समसामयिक समाचार, डिजिटल स्रोत तथा विद्यार्थीको दैनिक जीवनसँग सम्बन्धित विषयवस्तुलाई अङ्ग्रेजी शिक्षणसँग जोड्न सकिए भाषा सिकाइ थप सान्दर्भिक, जीवनोपयोगी र प्रभावकारी बन्न सक्छ । यसका साथै परियोजनामूलक सिकाइ, सहकार्यात्मक गतिविधि, प्रस्तुतीकरण, छलफल तथा वास्तविक जीवनमा आधारित कार्यहरूलाई शिक्षण प्रक्रियामा समावेश गर्दा विद्यार्थीको भाषिक दक्षता मात्र होइन, समालोचनात्मक सोच, समस्या समाधान क्षमता र आत्मविश्वाससमेत अभिवृद्धि गर्न सकिन्छ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताः अङ्ग्रेजी शिक्षाको नयाँ युग
कोभिड–१९ महामारीपछि विश्वभरि जस्तै नेपालमा पनि डिजिटल शिक्षाको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । अनलाइन कक्षा, भिडियो सामग्री, डिजिटल शब्दकोश, भाषा सिकाइका अनुप्रयोग, भर्चुअल कक्षाकोठा, सिकाइ व्यवस्थापन प्रणाली तथा खुला शैक्षिक स्रोतहरूले भाषा शिक्षणको स्वरूपलाई व्यापक रूपमा परिवर्तन गरेका छन्। आज अङ्ग्रेजी सिकाइ केवल पाठ्यपुस्तकमा सीमित छैन; विद्यार्थीले मोबाइल फोन, कम्प्युटर र इन्टरनेटमार्फत विश्वका उत्कृष्ट शैक्षिक स्रोत, व्याख्यान, पुस्तकालय र सिकाइ सामग्रीमा सहज पहुँच प्राप्त गर्न सक्छन् । यसले सिकाइलाई थप लचिलो, अन्तरक्रियात्मक र स्वनिर्देशित बनाएको छ ।
यस परिवर्तनलाई अझ तीव्र बनाएको छ कृत्रिम बुद्धिमत्ताले। च्याटजिपिटी, माइक्रोसफ्ट कोपाइलट, जेमिनी, ग्रामर्ली, क्विलबोट, डिपएल तथा डुओलिङ्गो जस्ता डिजिटल उपकरणहरूले लेखन, व्याकरण सुधार, शब्दावली विकास, अनुवाद, उच्चारण अभ्यास तथा व्यक्तिगत सिकाइका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेका छन्। शिक्षकहरूले पनि पाठ योजना तयार गर्न, अभ्यास सामग्री विकास गर्न, मूल्याङ्कनका लागि प्रश्न निर्माण गर्न तथा विद्यार्थीलाई व्यक्तिगत प्रतिक्रिया उपलब्ध गराउन यस्ता प्रविधिको उपयोग गर्न थालेका छन् ।
यद्यपि, कृत्रिम बुद्धिमत्ताको प्रयोगसँगै केही गम्भीर चुनौतीहरू पनि देखापरेका छन्। विद्यार्थीले आफ्नै सिर्जनात्मक लेखन नगरी कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भर हुने, स्रोतको विश्वसनीयता परीक्षण नगर्ने, शैक्षिक इमानदारीको उल्लङ्घन गर्ने तथा समालोचनात्मक सोचको विकासमा कमी आउने जोखिम बढेको छ । त्यसैले कृत्रिम बुद्धिमत्तालाई शिक्षकको विकल्पका रूपमा होइन, शिक्षण र सिकाइलाई प्रभावकारी बनाउने सहायक उपकरणका रूपमा प्रयोग गर्नुपर्छ। भविष्यको अङ्ग्रेजी भाषा शिक्षामा शिक्षकको भूमिका जानकारी दिने व्यक्तिबाट सिकाइको मार्गदर्शक, अनुसन्धानमा सहजीकरण गर्ने विशेषज्ञ तथा डिजिटल साक्षरताको विकास गर्ने प्रशिक्षकका रूपमा रूपान्तरण हुँदै जाने निश्चित देखिन्छ ।
समता, समावेशिता र भाषिक न्यायको प्रश्न
नेपालको अङ्ग्रेजी भाषा शिक्षामा सबैभन्दा महत्त्वपूर्ण सामाजिक बहसमध्ये समता, समावेशिता र भाषिक न्याय पनि एक हो । सहरी र ग्रामीण विद्यालय, निजी र सामुदायिक विद्यालय, सम्पन्न र विपन्न परिवार तथा विभिन्न भाषिक समुदायबीच शैक्षिक अवसरमा अझै ठूलो असमानता विद्यमान छ । धेरै निजी विद्यालयमा प्रशिक्षित शिक्षक, आधुनिक प्रविधि, समृद्ध पुस्तकालय तथा पर्याप्त सिकाइ स्रोत उपलब्ध छन् भने धेरै सामुदायिक विद्यालय आधारभूत शैक्षिक सामग्रीकै अभावमा संघर्ष गरिरहेका छन् । यसले अङ्ग्रेजी सिकाइको गुणस्तरमा उल्लेखनीय अन्तर सिर्जना गरेको छ ।
वर्तमान समयमा विश्वभरि नै अङ्ग्रेजीलाई सामाजिक विभाजनको माध्यम होइन, सामाजिक न्याय र समान अवसरको साधनका रूपमा विकास हुँदै गएको देखिन्छ। यसको अर्थ स्थानीय भाषा, मातृभाषा तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्दै अङ्ग्रेजी शिक्षालाई समावेशी बनाउनु हो । बहुभाषिक शिक्षण, स्थानीय सन्दर्भमा आधारित पाठ्यसामग्री, विभेदरहित मूल्याङ्कन प्रणाली तथा सबै विद्यार्थीका सिकाइ आवश्यकतालाई सम्बोधन गर्ने शिक्षण रणनीतिहरू अपनाउन सके मात्र अङ्ग्रेजी भाषा शिक्षाले सामाजिक न्यायको उद्देश्य पूरा गर्न सक्छ। भाषा शिक्षाको अन्तिम लक्ष्य कुनै एउटा भाषालाई अर्को भाषाभन्दा माथि स्थापित गर्नु होइन, बरु सबै विद्यार्थीलाई बहुभाषिक, आत्मविश्वासी र विश्वसँग प्रभावकारी रूपमा संवाद गर्न सक्षम बनाउनु हो ।
अनुसन्धान, नवप्रवर्तन र नीति सुधारको आवश्यकता
विश्वका सफल शिक्षा प्रणालीहरू अनुसन्धानमा आधारित हुन्छन्। नेपालमा पनि अङ्ग्रेजी भाषा शिक्षासम्बन्धी अनुसन्धानको दायरा विस्तार हुँदै गएको छ । विश्वविद्यालयहरू, नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले भाषा नीति, पाठ्यक्रम, शिक्षक विकास, बहुभाषिकता, डिजिटल प्रविधि तथा भाषा शिक्षणका विविध पक्षमा उल्लेखनीय अनुसन्धान गरिरहेका छन्। तथापि, ती अनुसन्धानका निष्कर्षहरू नीति निर्माण तथा कक्षाकोठाको अभ्यासमा पर्याप्त रूपमा उपयोग हुन सकेका छैनन् ।
अब अनुसन्धान, नीति र व्यवहारबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु आवश्यक छ । विद्यालयका शिक्षकलाई पनि अनुसन्धानकर्ताका रूपमा विकास गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । आफ्नै कक्षाकोठामा देखिएका समस्या पहिचान गरी समाधान खोज्ने कार्यमूलक अनुसन्धान, प्रतिबिम्बात्मक अभ्यास तथा कक्षाकोठामा आधारित अनुसन्धानले शिक्षकलाई आफ्नो शिक्षणलाई निरन्तर सुधार गर्ने अवसर प्रदान गर्छ । यसका साथै पाठ्यक्रम विकास, शिक्षक प्रशिक्षण, मूल्याङ्कन प्रणाली तथा शैक्षिक प्रविधिमा निरन्तर नवप्रवर्तन आवश्यक छ। विश्व तीव्र गतिमा परिवर्तन भइरहेका बेला स्थिर पाठ्यक्रम र परम्परागत शिक्षण विधिले मात्र अपेक्षित परिणाम दिन सक्दैन ।
भावी सम्भावनाः विश्वसँग जोडिएको तर स्थानीयतामा आधारित शिक्षा
नेपालमा अङ्ग्रेजी भाषा शिक्षाको भविष्य आशाजनक देखिन्छ। विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय उच्च शिक्षा, डिजिटल अर्थतन्त्र, अनुसन्धान तथा प्रविधिको विस्तारले अङ्ग्रेजीको उपयोगिता आगामी दिनमा अझ बढ्ने निश्चित छ । तर भविष्यको अङ्ग्रेजी शिक्षा विगतको जस्तो हुन सक्दैन। अबको शिक्षा स्थानीय संस्कृति र विश्वव्यापी ज्ञानबीच सन्तुलित पुल बन्नुपर्छ। विद्यार्थीलाई केवल व्याकरण र शब्दावली सिकाउनु पर्याप्त हुँदैन; उनीहरूमा समालोचनात्मक सोच, सञ्चार सीप, अन्तरसांस्कृतिक ज्ञान, डिजिटल साक्षरता, अनुसन्धान क्षमता तथा जीवनपर्यन्त सिक्ने संस्कारको विकास गर्नु आवश्यक छ ।
यसका लागि बहुभाषिक शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन, सबै तहका शिक्षकका लागि निरन्तर व्यावसायिक विकासका अवसरको विस्तार, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिको जिम्मेवार प्रयोग, ग्रामीण र सहरी विद्यालयबीचको गुणस्तरीय अन्तर न्यूनीकरण, अनुसन्धानमा आधारित नीति निर्माण तथा स्थानीय ज्ञान, संस्कृति र भाषिक विविधतालाई पाठ्यक्रममा सम्मानपूर्वक समावेश गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । यसरी मात्र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम र आफ्नै समाजप्रति उत्तरदायी नागरिक उत्पादन गर्न सकिन्छ ।
नेपालमा अङ्ग्रेजी भाषा शिक्षाले विगत केही दशकमा उल्लेखनीय परिवर्तनको यात्रा तय गरेको छ। यो परिवर्तन केवल भाषाको विस्तार मात्र होइन, शिक्षा, समाज, प्रविधि, अर्थतन्त्र र विश्वव्यापी सम्बन्धसँग जोडिएको व्यापक रूपान्तरण हो । अङ्ग्रेजी आज अवसर, अनुसन्धान, ज्ञान र विश्वसँगको संवादको महत्त्वपूर्ण भाषा बनेको छ । तर यसको सफलताले स्थानीय भाषा, संस्कृति र पहिचानलाई विस्थापित गर्नु हुँदैन। बरु अङ्ग्रेजीले नेपालको बहुभाषिक सम्पदालाई सम्मान गर्दै विश्वव्यापी अवसरसँग जोड्ने सेतुका रूपमा काम गर्नुपर्छ। अबको आवश्यकता भनेको अङ्ग्रेजीलाई विदेशी भाषा वा सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा नहेरी ज्ञान, अनुसन्धान, नवप्रवर्तन, सामाजिक न्याय र विश्वसँगको सहकार्यको माध्यमका रूपमा विकास गर्नु हो । नीति, अभ्यास, शिक्षक, प्रविधि र अनुसन्धानबीच प्रभावकारी समन्वय स्थापित गर्न सकिए नेपालले आफ्नो भाषिक विविधतालाई संरक्षण गर्दै विश्वस्तरीय, समावेशी र गुणस्तरीय अङ्ग्रेजी भाषा शिक्षा प्रणाली निर्माण गर्न सक्नेछ। यही नै नेपालको अङ्ग्रेजी भाषा शिक्षाको सबैभन्दा ठूलो सम्भावना र आगामी यात्राको स्पष्ट दिशा हो ।
(लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)



