शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं /१३ साउन – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।


सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो ।


अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका वास्तविक समस्या, ऐन कार्यान्वयनसँग सम्बन्धित सुझाव तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत विषयहरू प्रस्तुत गर्नुभएको थियो ।


सो अवसरमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गरिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभयो ।


मन्त्री पोखरेलले समग्र शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन रुपमा नीतिगत समाधान खोज्नेगरी मन्त्रालयले काम अगाडि बढाएको उल्लेख गर्नुभयो ।


शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सबैको समन्वय र सहकार्यबाट विद्यालय शिक्षाको दीर्घकालीन सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।