काठमाडौँ /२३ माघ – निर्वाचन आयोगले मतदाता शिक्षाका लागि बालविकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालनमध्ये जो अनुभवी छ, तिनैलाई स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका छ हजार सात सय ४३ वटै वडामा स्वयंसेवक खटाउन लागेको हो ।
यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ । स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्ने गरी परिचालन गर्न लागिएको र मत बदर नहुनेगरी स्वयंसेवकले मतदातालाई शिक्षा दिइने सहायक प्रवक्ता कुल बहादुर जिसीले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता आयोगले देखेको हो । मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा फागुन तीन गते अनु शिक्षण दिनेगरी तयारी गरिएको छ ।



