खेलकुद पाठ्यक्रम विकास गरिने

काठमाडौं /८ माघ – विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबिच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । समझदारी पत्रमा संरचित, प्रमाणमा आधारित र राष्ट्रिय आवश्यकता अनुसारको खेलकुद पाठ्यक्रम विकासमा एनएसएसएफको स्पष्ट प्रतिबद्धता र नेतृत्वलाई उजागर गरेको छ । यस सहकार्यबाट विद्यालय खेलकुद, शारीरिक शिक्षा तथा बालबालिकाको समग्र विकासलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।


समझदारी अनुसार, एनएसएसएफले पाठ्यक्रम आवश्यकताहरू पहिचान गर्ने, प्राथमिकता क्षेत्र निर्धारण गर्ने, विद्यालय तथा सरोकारवालासँग पहुँच सहज बनाउने र विकास गरिएका पाठ्यक्रमहरूको कार्यान्वयन तथा पाइलट परीक्षणको समन्वय गर्ने प्रमुख भूमिका निर्वाह गर्नेछ । साथै, महासङ्घले राष्ट्रिय विद्यालय खेलकुद अभ्यासमा आधारित प्राविधिक सुझाव प्रदान गर्ने र स्वीकृत पाठ्यक्रमहरूलाई आफ्नो सञ्जालमार्फत प्रवर्धन तथा प्रसार गर्नेछ ।


सहकार्य अन्तर्गत विद्यालय खेलकुद तथा शारीरिक शिक्षा, खेल विज्ञान र कोचिङका आधारभूत पक्ष, विद्यालय तहको खेल व्यवस्थापन तथा नेतृत्व, खेलकुदमार्फत बालविकास स्वास्थ्य, फिटनेस तथा समग्र कल्याण शिक्षा लगायत प्रमुख क्षेत्रमा पाठ्यक्रम विकास गरिनेछ ।


काठमाडौं विश्वविद्यालय शिक्षा संकायले शैक्षिक तथा प्राविधिक विज्ञता उपलब्ध गराउने, अनुसन्धानमा आधारित सामग्री विकास गर्ने, शैक्षिक गुणस्तर सुनिश्चित गर्ने तथा राष्ट्रिय शिक्षा संरचना र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग पाठ्यक्रमलाई समन्वय गर्न सहयोग गर्नेछ ।


शिक्षक, प्रशिक्षक तथा कोचहरूको क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक परामर्श, विज्ञ समीक्षा, अनुसन्धान, मूल्याङ्कन तथा खेलकुद शिक्षासम्बन्धी प्रभाव मूल्याङ्कनसमेत समझदारी पत्रमा समावेश गरिएको छ ।


एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले विद्यालय खेलकुदलाई दिगो, गुणस्तरीय र परिणाममुखी बनाउन पाठ्यक्रम विकास नै आधारशिला भएको उल्लेख गर्दै यस सहकार्यले नेपालमा खेलकुद शिक्षाको दीर्घकालीन सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


पाँच वर्षे अवधिका लागि मान्य रहने यो समझदारीपत्रले संस्थागत सहकार्य, शैक्षिक उत्कृष्टता र राष्ट्रिय प्राथमिकताअनुसारको खेलकुद शिक्षा विकासतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।