काठमाडौँ /८ माघ – ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर बाँकेकी प्रधानाध्यापक सुमित्रा न्यौपानेले निःशुल्क शिक्षाको नारा सामुदायिक विद्यालयका लागि निकै सकस र घाँडो भाएको बताएकी छन् । विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरूलाई हात खुट्टा बाधेर पोखरीमा पौडी खेल्न लगाएको जस्तो भएको उदाहरण दिँदै सो कुरा बताएकी हुन् ।
खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले शिक्षकहरूको तलब दिएपनि विद्यालय सञ्चालनका लागि अन्य स्रोत केही नहुँदा निकै कठिन भएको बताइन ।
उनले आफू कार्यरत विद्यालयको उदाहरण दिँदै भनिन् “हाम्रो विद्यालयमा मावि शिक्षक दरबन्दी मेरो मात्रै छ । काम गर्न खोज्दा विभिन्न बाहानामा गर्न दिइन्न, निःशुल्क शिक्षाको नाममा काम गर्न कठिन छ । बरु प्रधानाध्यापकबाट हटाईदिए हुने थियो । यो कुरा कसलाई भनौँ, कसलाई राजीनामा बुझाउ । शिक्षकले राम्रो गर्दा पनि धन्यवाद भन्ने कोही भेटिन्न । मन्त्रालयदेखि, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र नीति निर्माता सबै गाली मात्रै गर्ने छन् ।”
उनले आफ्नो विद्यालयमा २७ शिक्षकलाई राज्यले तलब खुवाउने गरेको र बाँकी २० जना शिक्षकलाई स्कुलले तलब खुवाउनुपर्ने बाध्यता रहेको उल्लेख गरिन । “स्कुलका लागि आउने मसलन्द खर्चले पानी, बिजुलीको विल तिर्न मुस्किल छ, तराईको स्कुल छ, एक कक्षामै ५/६ वटा पङ्खा चलाउनुपर्छ । पङ्खा नचलाए गर्मीले विद्यार्थीलाई समस्या हुन्छ, भने चलाए बिजुलीको विल तिरी नसक्नुछ ।”
तराईका सामुदायिक स्कुलमा पढ्न आउने प्रायः विद्यार्थी गरिब परिवारका हुने गरेकोले विद्यार्थीसँग जुत्ता, ड्रेस, कलम कापी समेतको अभाव देखाउँदै पढ्न आउनेको सङ्ख्या धेरै भएको उनको भनाई छ । त्यसकारणले पनि धेरै स्रोत साधन भएका निजि विद्यालयमा पढेका विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीको एउटै नतिजा नहुने न्यौपानेले दाबी गरिन ।
“स्कुललाई आर्थिक स्रोत खोज्न जुटाउनबाट वञ्चित राख्ने, निःशुल्क समावेशी शिक्षा दे भनेर शिक्षक समेत उपलब्ध नगराएपछि कहाँबाट राम्रो नतिजा आउँछ । राज्यले मलाई यस पदबाट हटाइ दिए मलाई आनन्द हुन्थ्यो । विद्यालयका शिक्षकहरूलाई तालिम र हौसला छैन, जनप्रतिनिधि, अभिभावक र विद्यार्थी सबैले लौरो बोकेर स्कुलको विरोध गर्ने परिपाटीकाबिच नियमित पढाउँछन्, स्कुलको प्रधानाध्यापकलाई समेत कुनै अधिकार छैन, व्यवस्थापन समितिको विविध माग मान्दै जागिर धान्नुको दुःख छ” उनले भनिन् ।
सरकारले ल्याएका नीति राम्रा भएपनि त्यसको कार्यान्वयनका लागि विद्यालयहरूको अनुगमन गरेर त्यहाँको आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन । यो, चाहियो, त्यो चाहियो मात्रै भनेर नहुने त्यसका लागि प्रयोगात्मक कक्षा, आवश्यक शैक्षिक सामाग्री, शिक्षक, राम्रो प्रविधिमैत्री कक्षा कोठाको व्यवस्थापन लगायतमा ध्यान दिन आग्रह गरिन ।
यसैगरी अहिलेको पाठ्यक्रम विद्यार्थीमैत्री नभएको तर ठूला आदर्शवादी कुरा पाठ्यक्रममा राखिएकोले ठूला प्रश्नकै बोझले विद्यार्थीको सिकाई पद्धति प्रभावित भइरहेको उनको भनाई छ । सिकाई पद्धति सुधारका लागि विद्यार्थीको रुचि र समय अनुसारको सिपसँग जोडिएको पाठ्यक्रम बनाउनुपर्ने सुझाब दिइन ।



