काठमाडौँ /२२ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालय सुधार गर्न १० देखि १५ वर्षसम्म लाग्न सक्ने बताएका छन् ।
विश्वविद्यालय विद्यार्थी भर्ना समयमै गर्न नसक्ने सवालमा विचार व्यक्त गर्दै त्यसमा विश्वविद्यालयको लापर्बाही रहेको र विश्वविद्यालयका पदाधिकारीहरू तथा कार्यकारीहरू बिचमा हुने खिचातानीले समयमै भर्ना हुन नसकने परिस्थिति निर्माण भएको उनको भनाई छ ।
विभिन्न राजनीतिक पार्टीहरूसँग सम्बन्धीत हुँदा पदाधिकारीहरू नमिल्ने र पार्टीभित्रका शिक्षकहरूको दबाब हुने भएकोले समस्या भएको बताए । “कुनै पनि काम समयमा गर्न नसक्नुकाको कारण राजनीतिसँग आबद्ध भएर उहाँहरूको स्वार्थ बाझिने हुनाले सबै काम सुचारु रूपमा चल्न नसकेको हो । त्यसैले राजनीति मुक्त गर्नुपर्छ भनेर मैले भनेको छु” उनले भने ।
विश्वविद्यालय सुधार गर्नका लागि कुलपति हुने व्यवस्था प्रधानमन्त्रीलाई हटाएर एउटा स्वच्छ प्राज्ञिक व्यक्ति बनाउनुपर्नेमा जोड् दिँदै त्यति गर्दा पनि विश्वविद्यालय सुधार गर्नका लागि अझै १० देखि १५ वर्षसम्म लाग्न सक्ने उनको भनाई छ । “कुनै पनि घाउ भयो भने, त्यो घाउमा औषधि लगाउँदै गरेपनि औषधि लगाउने बित्तिकै घाउ सन्चो हुन समय लाग्छ । त्यस्तै प्रधानमन्त्री कुलपति हुने, सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था हटाइयो भने विस्तारै विस्तारै सुधार गर्नका लागि १० देखि १५ वर्ष लाग्छ” मन्त्री पुनले भने ।



