अनियमितता गरेको भन्दै संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुव्र्यवहार

दाङ/६ पुस – नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेताले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई दुव्र्यवहार गरेका छन् ।


अनियमितता गरेको आरोपमा आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका विद्यार्थीले मोसो दल्नुका साथै दुव्र्यवहार गरेका हुन् ।


दुव्र्यवहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको दाङका प्रहरीले जनाएको छ । मोसो दल्नेहरू उपकुलपतिको क्वाटरमै पुगेर दलेका थिए । घटनाको जिम्मा अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन् ।


विज्ञप्ति उपकुलपति नेपालमाथि विभिन्न ८ बुँदामा दोषारोपन गरिएको छ । उपकुलपति नेपालमाथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ती तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो ।