काठमाडौँ /६ पुष -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा भएको बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउनका लागि स्थानीय तहका अभिभावकहरूले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।
अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो रहेको उनको भनाई छ ।
शिक्षा मन्त्री पुनले संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गर्दै विद्यालय सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार नेपालको संविधानले नै अभिभावकहरूलाई दिएको बताएका छन् । शिक्षा मन्त्रालयले काठमाडौँबाट निर्देशन जारी गर्दा स्थानीय तहका विद्यालयको शिक्षा सुधार नहुने हुँदा बालबालिकाको भविष्य सुधारमा अभिभावक आफैँ लाग्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन् “नेपाल भरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरे सम्म र कडा चेतावनीहरू नदिए सम्म सुधार हुन गाह्रो छ । त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अभिभावकहरू, आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस् ।”



