राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने तयारी

काठमाडौँ /६ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा रहेको राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । राहत कोटामा पनि स्थायी दरबन्दी सरह तलब तथा अन्य सुविधाहरू उपलब्ध भइरहेको र दरबन्दीमा रूपान्तरण गरेपछि थप हुन आउने सेवा सुविधालाई हेरेर रूपान्तरण गर्ने तयारी भएको स्रोतले जनाएको छ ।


यस सम्बन्धी प्रक्रियाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र मन्त्रालयमा प्रस्ताव पठाइसकेको र मन्त्रालयले अर्थबाट स्वीकृत पाएको खण्डमा रूपान्तरण प्रक्रिया थालिने स्रोतले जनाएको छ ।


स्रोतले भन्यो “विद्यालयमा उपलब्ध राहत कोटालाई दरबन्दीमा रूपान्तरणका लागि प्रक्रिया अगाडी बढाएका छौँ । यस सम्बन्धी फाइल मन्त्रालयमा पेस भएको छ । मन्त्रालयले अर्थ मन्त्रालयसँग स्वीकृत पाएको खण्डमा दरबन्दीमा रूपान्तरण गर्ने छौँ । तर निर्णय भैसकेको छैन । अहिले दरबन्दी सरह नै स्केल पठाउने गरिएको छ । दरबन्दीमा परिणत गरेपछि थप हुन आउने सेवा सुविधालाई हेरेर अर्थले स्वीकृत दिएको खण्डमा रूपान्तरण गर्छौ ।”


धेरै प्रकारका शिक्षकहरू नरहने गरी मन्त्रालय अगाडी बढेको पनि स्रोतले जनाएको छ । राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने प्रक्रिया अगाडी बढेपनि यसलाई कुन संरचनामा गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको स्रोतले बतायो । खाली हुँदै गएका राहत कोटालाई विस्तारै दरबन्दीमा रूपान्तरण गर्दै लैजाने वा दरबन्दी रूपान्तरण गरेर परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय नभएको स्रोतले बतायो । दरबन्दी रूपान्तरणका लागि अर्थ मन्त्रालयले स्वीकृत दिएपछि मात्रै त्यसबारे मन्त्रालयले निर्णय लिन सक्ने स्रोतको दाबी छ ।


अहिले प्राविमा २१ हजार ८ सय ७१, निमाविमा ९ हजार ६ सय ९, माविमा ६ हजार ८ सय ९८ र साविक उच्च माविमा ४ हजार राहत कोटा रहेको छ ।