काठमाडौँ/१ पुष -आठौँ नेक्सस् कप २०८२ सम्पन्न भएको छ । सोमबार मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा भएको फाइनल खेलसँगै समपन्न भएको हो ।
फाइनल खेलमा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीले लाइसियम प्याराडाइज एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ । उपविजेता बनेको लाइसियम प्याराडाइज एकेडेमी फस्ट रनर–अपमा सीमित रह्यो ।
समापन समारोह प्याब्सनका महासचिव तथा नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी कटवालको अध्यक्षता रहेको थियो भने प्याब्सनका पूर्व अध्यक्ष तथा सल्लाहकार डीके ढुंगाना प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।
विजेता टोली नेक्सस् इन्टरनेसनल एकेडेमीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । साथै उपविजेता भएको लाइसियम प्याराडाइज एकेडेमीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको विद्यालयले जनाएको छ ।
आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल कटवालले विद्यार्थीको शैक्षिक प्रगतिको साथसाथै शारीरिक र मानसिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अनुशासन, नेतृत्व र प्रतिस्पर्धी भावना विकास गर्न नेक्सस् कपजस्ता प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको बताए ।
प्रमुख अतिथि डीके ढुंगानाले विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकता दिनु सकारात्मक अभ्यास भएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यका सक्षम खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे ।
प्रतियोगिताका क्रममा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र फेयरप्ले टिमलाई विशेष सम्मान प्रदान गरिएको थियो ।



