काठमाडौँ/१ पुष – रोटरी क्लब गोंगबुसहित १३ वटा रोटरी क्लबहरूको संयुक्त प्रयासमा तारकेश्वर ५ स्थित नागार्जुन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । प्रारम्भिक बालविकास देखि कक्षा १० सम्मका ४ सय ८ विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग गरिएको हो ।
विद्यार्थीहरूलाई ५ लाख ३५ हजार बराबरको कपि ४ हजार थान, कलम, पेन्सिल, इरेजर, कटर, स्केल लगायतका स्टेशनरी सामाग्रीका साथै फुटबल जर्सी र विद्यालयका लागि फिल्टर उपलब्ध गराइएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य प्रमोदादेवी पौडेलको सभापतित्व र रोटरीका पूर्व अध्यक्ष योगेन्द्रमान प्रधानको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल राम शरण फुयाँल गरेका थिए भने सामाग्री व्यवस्थापन रोटरी क्लब गोंगबुका अध्यक्ष राजा राम फुयाँल गरेका थिए ।
हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने मूल भावनाका साथ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको रोटरी क्लब गोंगबुका अध्यक्ष राजा राम फुयाँल बताए । उनले रोटरी एक सामाजिक संस्था रहेकोले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको बताए ।



