खोटाङ/२१ मंसिर – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ। शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यो निर्णय गरिएको हो ।
जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) यस नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) गरी जम्मा ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
यो भत्ताबापत नगरपालिकालाई एक आर्थिक वर्षमा रु एक करोड ७३ लाखको थप व्ययभार पर्नेछ। बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५ हजार २०० विद्यार्थी अध्ययनरत यस नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन् । रासस



