विद्यालय शिक्षा शिक्षकले बिगारेका होइनन्, कर्मचारीले ध्वस्त बनाएका हुन

काठमाडौँ /१८ मंसिर – नेपालको शिक्षा प्रणाली शिक्षकका कारणले बिग्रेको नभई कर्मचारी संयन्त्रका कारणले ध्वस्त भएको शिक्षा विश्लेषक नारायण कोइरालाले बताएका छन् । शिक्षा पढेको छु भनेर एउटा शिक्षकले जसरी सोचेको छ त्यसरी सोच्न नसकिने, प्रशासक हुने बित्तिकै काम गर्ने प्यारामिटिर परिवर्तन हुने भएकोले कर्मचारीमा शिक्षा पढे भन्दैमा वा शिक्षामा काम गरे भन्दैमा शिक्षाको ज्ञाता हुन्छु भनेर महसुस गर्दा बिग्रिएको उनको भनाई छ ।

शिक्षा विश्लेषक नारायण कोइरालाले खबर एजुकेशनसँगको संवादमा कर्मचारी व्यवस्थापक वा प्रशासक बन्न नसक्दा र शिक्षाविद् बन्न खोज्दा शिक्षामा खतार देखिएको धारणा व्यक्त गरे । जति शिक्षामा प्रगति हुनुपर्ने थियो कर्मचारीका कारणले त्यति प्रगति हुन नसकेको बताउँदै त्यसबाट कर्मचारी संयन्त्रलाई बाहिर निकाल्नु पर्ने बताए ।


कर्मचारीले शिक्षकलाई र राजनीति गर्ने व्यक्तिहरूलाई जर्ज गर्न थालेकाले शिक्षा मन्त्रालय नै फेल भएको विचार व्यक्त गरे । उनले भने कर्मचारी तन्त्रले शिक्षालाई ग्रोअप त्यति हुन दिएन, जति हुनुपर्ने थियो ।


मन्त्रालयमा गरिएका कुनै पनि सम्झौता तत्कालका समस्या टार्नका लागि गरिने तर त्यसपछि रद्धिको टोकरीमा हालिदिने र बाँकी त्यही चिज हुन्छ जुन चिज गर्न चाहेका छन्, मन देखि गर्दै नगर्ने भएकाले त्यसबाट बाहिर निकाल्न जरुरी भएको बताए ।


उनले भने संविधानले सङ्घीय शिक्षा मन्त्रालयको परिकल्पना नै गरेको छैन । सायद यही कारणले गर्दा हो । कल्पना के गरेको छ भने सरकारका शिक्षा कर्मचारीहरू हरेक पालिकामा छन्, पालकामा के चाहिन्छ, कस्तो शिक्षा चाहिन्छ, उसको क्षेत्रभित्र टेक्निकल, भोकेस्नल, साधारण कुन खालको शिक्षा दिने, त्यहाँ कति बालबालिकाहरू छन्, कुन शिक्षा दियो भने के काम पाउँछन् भन्ने कुरा पालिकालाई थाहा हुन्छ, संघमा बसेकालाई थाहा हुँदैन । त्यसकारणले होला विद्यालय शिक्षाको सबै अधिकार र जिम्मेवारी पालिकालाई दिउँ भने ।


शिक्षा विभागको प्रमुख भएर पालिकामा पनि शिक्षाकै कर्मचारी बस्ने भएकोले त्यसका बाबजुद जिल्लामा शिक्षा विकास इकाइको परिकल्पना गरेर इकाइ प्रमुख लगेर राखिएको उल्लेख गर्दै जहाँ पनि कर्मचारी हाबी हुन खोजेको बताए ।


पालिकाको कर्मचारीले आफ्नो दबदबामा राख्न सकेन भने शिक्षा विकास इकाइले दबदबामा राख्ने, उसले पनि सकेन भने शिक्षा विभागले राख्ने र उसले पनि नसके सङ्घीय शिक्षा मन्त्रालयले राख्ने भएकोले संघमा शिक्षा मन्त्रालयको आवश्यक नभएको विचार व्यक्त गरे ।


कोइरालाले शिक्षा मन्त्रालय शिक्षाको विकास गर्न नभई शिक्षालाई दबाउनलाई, शिक्षामा प्रगति हुन नदिनलाई र शिक्षालाई थप सङ्कुचित बनाउनका लागि संघमा राखिएको तर्क गरे ।


शिक्षक एक्लै भए कर्मचारीको चाकरी नगरी उन्नयननै हुँदैन । शिक्षक युनाईटेड हुँदा मात्रै आफ्ना कुरा राख्न सक्ने अवस्था सिर्जना भएको र शिक्षक छाडा हुनुमा, पार्टीको झोला बोक्नुमा र नपढाउनुको कारक पनि कर्मचारी तन्त्रनै रहेको उनको भनाई छ ।

आफूले पनि १० १२ जना शिक्षा मन्त्रीसँग कम गरेको उदाहरण दिँदै राजनीति गर्ने मान्छे नै बिग्रेर आउनुमा समेत कर्मचारीको हात रहेको उनको दाबी छ । जुन उदेश्य बोकेर राजनीति गरेर आए उनिहरू आफैमा खराब नरहेको उल्लेख गर्दै उदेश्य अनुरूप काम गर्न नदिने कर्मचारी नै रहेको बताए ।


शिक्षकहरूले सरकारसँग पटक पटक गरेका सम्झौता कार्यान्वयन गर्न नदिने पनि कर्मचारी नै रहेको कोइरालाको भनाई छ । उनले भने सङ्घीय मन्त्रालय, इकाइ कुनै पनि नराख्ने, आवश्यक भए नियमनका लागि एउटा विभाग राखे पुग्छ । शिक्षालाई सुधार गर्ने हो भने शिक्षा सेवा खारेज गर्नु पर्छ । शिक्षाको विकास नहुनु, शिक्षाको गुणस्तर खस्कनु, शिक्षा जहाको त्यही रहनु कर्मचारीकै कारणले हो । शिक्षा जति माथि आएको छ हामी कसैको हाका कारणले होइन शिक्षकले गर्दा हो ।