काठमाडौँ /१० मंसिर – अध्यागमन विभागले विदेशी नागरिकहरुलाई अध्ययन गराउने शैक्षिक संस्थाहरुको अनुगमन गर्ने भएको छ । अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाहरूले अध्ययन कार्यमा नियमित रूपमा संलग्न नहुने पूर्व जानकारी हुँदाहुँदै पनि संस्थाको आम्दानीको दृष्टिकोणले मात्र विद्यार्थी भर्ना गर्ने गरेका पाइए पछि कडाई गर्ने भएको हो ।
जरी विज्ञप्तिमा भनिएको छ “अध्यागमन विभागले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाहरूले अध्ययन कार्यमा नियमित रूपमा संलग्न नहुने पूर्व जानकारी हुँदाहुँदै पनि संस्थाको आम्दानीको दृष्टिकोणले मात्र विद्यार्थी भर्ना गर्ने गरेको, लामो अवधिको नेपाल बसाईका लागि वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानूनले बर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ ।”
साथै अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरुले नियमित रुपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधी थप गर्न नक्कली कागजात पेश गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसकेको र कतिपय विदेशी विद्यार्थीहरु गैरकानूनी कार्यमा संलग्न रहेको देखिँदा समेत सम्बन्धित शैक्षिक संस्थाहरूले विभाग तथा स्थानीय प्रशासनलाई सूचना नदिएको विभागको आरोप छ ।
भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए÷नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिनदसबै शैक्षिक संस्थाहरूलाई आयोगको अनुरोध छ ।
यसैगरी विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत अनुरोध गरिसकिएको जनाएको छ ।



