निजी विद्यालयभित्र नेपाली भाषा प्रयोगमा रोक नलगाउन सर्वोच्चको परमादेश

काठमाडौँ /७ मंसिर – सर्वोच्च अदालतले निजी विद्यालयभित्र नेपाली भाषा प्रयोगमा रोक लगाउन नहुने आदेश दिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।


निजी विद्यालय परिसरभित्र अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने व्यवस्था हटाउन र नेपाली भाषा बोल्दा बालबालिकालाई मानसिक तनाव दिने र अपमान गर्ने कार्य नगर्न सर्वोच्चले शिक्षा मन्त्रालय, प्याब्सनसहितको नाममा आइतबार परमादेश जारी गरेको छ ।


कानुनका विद्यार्थी आयुष बडालसहितले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी विद्यालय परिसर भित्र नेपाली भाषा बोल्दा बालबालिकालाई सजाय दिने कार्य नगर्ने र अङ्ग्रेजी भाषा अनिवार्य बोल्न पर्ने दबाब विद्यार्थीलाई नदिन विपक्षीका नाममा परमादेश जारी गरेको हो ।


साथै प्याब्सन मातहतका निजी विद्यालयमा नेपाली भाषा प्रयोग गरे वापत सजाय दिने भनी कुनै नीति निर्देशन भए त्यस्तो सर्कुलर समेत कार्यान्वयन नगर्न भनेको छ ।