काठमाडौँ /१६ भदौ – विद्यालय शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप तत्काल जारी गर्न एनसिई नेपालले माग गरेको छ । लामो रस्साकस्सी पछि विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरी प्रतिवेदन संसदको पूर्ण बैठकमा पेस भएको उल्लेख गर्दै सो माग गरेको हो ।
यसैगरी शिक्षा विधेयकलाई संविधानको धारा ३१ मा रहेको शिक्षाको मौलिक हक, धारा ५१ (ज. २), धारा ५२ र संविधानको अनुसूची ८ को मर्म र आशय अनुरूप तत्काल जारी गर्नु पर्नेमा यसमा भईरहेको ढिलाईले संविधानको मर्म अनुरूप शिक्षा विधेयक आउनेमा थप संशय पैदा भएको एनसिइ नेपालको ठहर छ ।
“सार्वजनिक वृत्तमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको मस्यौदामा भएका कतिपय व्यवस्थाहरूबारे निजिक्षेत्रबाट टीकाटिप्पणी भइरहेको छ । यसबाट एकातर्फ आम नागरिकमा विधेयक तत्काल जारी हुने कुरा प्रति संशय पैदा भईरहेको छ भने अर्कोतर्फ शिक्षामा निजीकरण र व्यापारीकरण गर्न चाहने स्वार्थ समूहले समेत यस प्रक्रियामा अनुचित दबाब सिर्जना गरिरहेको यस अभियानको ठहर रहेको छ” विज्ञप्तिमा भनिएको छ ।
साथै संविधानप्रदत्त शिक्षा सम्बन्धी मौलिक हकको प्रचलनलाई सहजीकरण गर्न, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ कार्यान्वयन गर्न र प्रदेश तथा स्थानीय सरकारको शिक्षा सम्बन्धी नीति तथा योजनालाई सफल बनाउनका निमित्त विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्न माग गरेको छ ।



