काठमाडौं/१२ भदौ – आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको छाता संस्थाहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान, एनएमए र अपेनले भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकाल विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
विद्यालय शिक्षा विधेयकमा क्रमशः गैरनाफामूलक बनाउँदै लगिने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान ल्याउन लागेको भन्दै उक्त शब्द सच्याउनु पर्ने माग गर्दै सो चेतावनी दिएका हुन् ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पेस भइसकेको अवस्थामा विद्यालय शिक्षा विधेयकमा रहेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयहरू सडक आन्दोलनमा छन् ।
आज थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै भदौ १८ गतेसम्म विभिन्न चरणका आन्दोलन गर्ने र त्यसपछि पनि सरकारले माग सम्बोधन नगरे अनिश्चितकाल विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।




