सरकारलाई निजी विद्यालयको चुनौती : निजी विद्यालयलाई सिध्याउने शिक्षा ऐन ल्याए मान्दैनौँ

काठमाडौं/११ भदौँ – निजी विद्यालयहरूले सामुदायिक विद्यालय सुधार गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । सरकारले निजी विद्यालय र विद्यार्थीका लागि विभेदकारी शिक्षा नीति ल्याउन लागेको बताउँदै सामुदायिक विद्यालय सुधार गरे आफूहरू बाधक नबन्ने तर अनावश्यक रूपमा नीति बनाएर निजी विद्यालयलाई धराशायी बनाउने खेलमा सरकार लागेको उनिहरूको भनाई छ ।


सङ्घीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको भन्दै आन्दोलनमा रहेका निजी विद्यालयहरूले आज आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा विद्यालयमा गरिएको लगानी र सम्पत्ति धराशायी बनाएर विदेश पलायन हुन तर्फ धकेल्ने प्रयत्न गरेकोले प्रस्तावित विद्यालय शिक्षा विधेयक मान्य नहुने बताए ।


कार्यक्रममा शिक्षा विधेयक २०८० मा निजी शिक्षा क्षेत्रलाई नीतिगत चुनौती र संकटका बारेमा बोल्दै अधिवक्ता सञ्जय अधिकारीले सरोकारवालाहरूका कुरा नसुनी बनाइएको कानुन कनुननै बन्न नसक्ने तर्क गरे । उनले विधिको शासन द्वारा शासन गर्नुपर्ने उल्लेख गर्दै सांसदहरूले अधिकारका कुरा नबुझ्दा संसदमा यस्ता कुरा उठ्ने गरेको बताए । निजी विद्यालयको सम्पत्तिलाई मारेर सरकारले लोककल्याणकारीका कुरा गर्नु र त्यस्ता खालका नीति बनाउन कानुननले नदिने र सरकारले जबरजस्ती गरे सर्वोच्च अदालतसम्म जान सकिने प्रस्ट पारे ।


उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले निजी विद्यालयहरूले गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउनु पर्छ भन्ने शब्द प्रस्तावित शिक्षा ऐनमा राख्न नमिल्नेमा जोड्दिए । सरकारले सक्छ भने सामुदायिक विद्यालय सुधार गरेर देखाउन समेत उनको चुनौती छ । निजी विद्यालयहरूले राम्रो गर्दा पनि सरकारले त्यसलाई बुझन नसकनु दुखत भएको उल्लेख गर्दै उद्योग वाणिज्य महासङ्घ निजी विद्यालयको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।


अभिभावक महासङ्घका अध्यक्ष केशव पुरीले विद्यार्थीलाई बाहिर राखेर आन्दोलन नगर्न आग्रह गर्दै आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । यसैगरी राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोश बहादुर जिसीले सबै सरोकारवालाहरूको समान हैसियत, पहुँच हुने र सबैले स्वीकार गर्ने ऐन ल्याउनु पर्नेमा जोड्दिए ।


निस्टाका अध्यक्ष भोला चालिसेले क्रमशः नाफामूलक बनाउने भन्नुको अर्थ सरकारले हातेमालो गर्न खोजेको, साथै सामुदायिक र निजी विद्यालयको साझेदारी गर्न खोजेको बुझिने बताउँदै यसलाई अन्यथा लिनुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरे । उनले ट्रस्टमा हुँदैमा बिग्रने र कम्पनीमा जाँदा राम्रो हुने भन्ने बुझाई गलत भएको उल्लेख गर्दै नीतिगत अस्पष्टता हुँदा समस्या आउने गरेको भनाई राखे । साथै निजी विद्यालयमा कार्यरत शिक्षकहरूलाई समयमा नै तलबको व्यवस्था गर्न निजी विद्यालयहरूसँग आग्रह गरेका छन् ।


चालिसेले छात्रवृत्तिको सवालमा बोल्दै १५ प्रतिशत पूर्ण छात्रवृत्ति भनिएपनि सबै भार निजीले बोक्नु पर्छ भन्न नमिल्ने र यसका लागि मापदण्ड बनाएर जानुका साथै विद्यालयले दिन नसकेको खण्डमा स्थानीय तहले व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।


इष्टुका अध्यक्ष होमकुमार थापाले नेपाल शिक्षक महासङ्घले गरेको आन्दोलनमा निजी विद्यालयका विभिन्न संगठनहरूसँग कुरा गर्दा कहिल्यै बेठिक छ नभनेपनि जति साथ पाउनुपर्ने हो त्यो साथ नपाएको बताउँदै शिक्षकलाई खेतालाका रूपमा नहेर्न आग्रह गरे । निजी विद्यालय सडकमा जाँदा आफूहरू सडकमा जान कुनै हिचकिचाहट नरहेको तर, विद्यालयका शिक्षकलाई शिक्षककै जस्तो व्यवहार गरिनुपर्ने बताए । थापाले निजी विद्यालयका विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबिच स्यानिटरी प्याड, निजी विद्यालयमा पढेका विद्यार्थीलाई दिने छात्रवृत्ति र अवसरमा पनि विभेदकारी व्यवहार गर्ने गरेको उल्लेख गर्दै किताब, कलम, ड्रेस सबै विद्यालयलाई दे भन्नु गलत रहेको धारणा व्यक्त गरे ।


नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयलाई आन्दोलनको थलो नबनाउन आग्रह गर्दै नेपाललाई शैक्षिक हब बनाउन आवश्यक रहेको बताए । उनले राष्ट्रिय परीक्षा बोर्डले समेत परीक्षा शुल्क लिने गरेकोले निःशुल्क शिक्षाको खिलाफमा सरकार आफै रहेको उल्लेख गरे । निःशुल्क शिक्षा राज्यले भन्ने र अवैधानिक काम गर्ने कुराले राज्य नै कानुन विपरीत रहेको उनको भनाई थियो । छात्रवृत्तिका सवालमा समेत सरकारले विभेद गर्ने गरेको र यस्तो विभेद गर्न नमिल्नेमा जोड्दिए ।


भण्डारीले निजी विद्यालयमा नराम्रा कुरा भए त्यसलाई नियमन गर्नुपर्ने तर शुल्क निर्धारणको सवालमा प्रस्ट हुनुपर्ने बताए । निजी विद्यालयले अहिले दिएको छात्रवृत्तिमा पनि पारदर्शिता हुनुपर्ने उल्लेख गर्दै कसैले जीहजुर भन्दैमा छात्रवृत्ति नदिन र साँच्चिकै दिनुपर्ने विद्यार्थीलाई दिन आग्रह गरे ।


प्याब्सनका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष टिकाराम पुरीले सरकार आफै अहिले निःशुल्क शिक्षा दिन सक्ने अवस्थामा नरहेको उल्लेख गदै यस्तै अवस्था रहे केही वर्षमा सामुदायिक विद्यालयले पनि शुल्क नलिई विद्यालय सञ्चालन गर्ने सक्ने अवस्थामा नरहने बताए ।


संसारमा समाजवादको परिभाषा परिवर्तन भइसकेको र चाइनामा पनि निजी विद्यालय सञ्चालन रहेको उदाहरण दिँदै हुने खाने वर्गले निजी विद्यालयमा पढाउँदा सरकारलाई टाउको दुखाउन नपर्ने उनको भनाई थियो । दलहरूसँग आग्रह गर्दै निःशुल्क शिक्षा दिन नसक्ने भएपछि संविधान संशोधन गर्न सुझाब दिँदै अहिलेको प्रस्तावित शिक्षा विधेयकमा कसैले पनि खुसी व्यक्त नगरेको र २०२८ सालको जत्तिको पनि शिक्षा ऐन नभएकोले सुधार गर्नुपर्ने बताए ।


निजी विद्यालयले दिने छात्रवृत्ति पनि सरकारले दिने हो भने निजी विद्यालयलाई भरण पोषण गर्नुपर्ने बताउँदै उनले भने “हामीले लगानी गर्ने, नाफाघाटा हामीले ब्यहोर्ने, हामीले दुख गर्ने अनि सरकारले मैले दिए भन्ने ? कति सजिलो, कस्तो परिभाषा लगाएको ? छात्रवृत्ति अहिलेको व्यवस्थामा ठिक छैन ।”


पुरीले छात्रवृत्ति दिनैपर्ने भए पनि निजी विद्यालयले उत्पादन नगर्ने कुनै पनि कुरा दिन नसकिने तर पढाई शुल्कसम्म दिन सकिने बताए । सिधै निजी विद्यालयलाई अप्ठेरो पारेर ढलाउने गरी ऐन बनाउन लागिएको बताउँदै निजी विद्यालयहरू सडकमा आईसकेको र यदी माग सम्बोधन नगरी जबरजस्ती गर्न खोजे ऐनको विरोध जारी रहने बताए ।


अपेनका अध्यक्ष बद्री दाहालले निजी क्षेत्रको लागनी सुरक्षाका लागि आन्दोलन अझै सशक्त बनाउने चेतावनी दिँदै दक्ष जनशक्ति निर्माण गर्ने शिक्षा क्षेत्रलाई नै सरकारले सक्न खोजेको धारणा व्यक्त गरे । निःशुल्क शिक्षा भनेर सरकारले हचुवाका भरमा ल्याउन खोजेको शिक्षा ऐन नमान्ने र माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेमा जोड दिए ।


प्याब्सनका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले अहिलेको आन्दोलन लिने नभई दिने भएको बताउँदै विद्यालय शिक्षा पुजी निर्माणको क्षेत्र पनि भएको, विद्यालय शिक्षामा मात्रै ६ खर्बको लगानी रहेको, ४ लाख मानिसहरूले प्रत्यक्ष अप्रत्यक्ष रोजगार प्राप्त गरेको, आर्थिक चक्रमा वार्षिक २ खर्बको योगदान गरेको, शिक्षाको कुल लगानीमा ३५ प्रतिशत हिस्सा ओगटेको यो क्षेत्रलाई राज्यले आफ्नो अस्तित्वका लागि लड्न बाध्य पारेको बताए ।


उनले सांसदहरूलाई प्रश्न गर्दै भने “तपाईहरूले कताको समाजवाद पढेको हो ? हामीले पनि समाजवाद पढेकै छौँ त । समाजवादमा पुजी निर्माण हुन्छ की हुँदैन ? आज चिनमा भएका सयवटा पुजी पतिलाई निकाल्दिने हो भने चिनको आकार के हुन्छ ? अमेरिकामा भएका सय जना पुजी पतिलाई निकाले अमेरिकाको अस्तित्व के हुन्छ ? के यो कुरालाई तपाईहरूले बुझनु हुन्छ ? तपाईहरू झोला बोक्ने र त्यही झोलामा देशको समृद्धि खोज्ने हो ?”


साथै कम्पनी गैरनाफामूलक कहिल्यै नहुने तर्क गर्दै नाफा वितरण नगर्ने परिकल्पना कम्पनी ऐनले गरेको बताए । “समाजवाद, माक्र्सबाद जे जे भएपनि पुजी विनाको बादको अर्थ छैन । तपाई पुजी निर्माण गर्दै हुनुहुन्न, पुजीलाई निरुत्साहीत गर्दै हुनुहुन्छ भने तपाईले यो देशलाई धोका दिइरहनु भएको छ, धोका दिनेहरूलाई हामी भोट हाल्दैनौँ, समर्थन पनि गर्दैनौ, तपाईहरूको पक्षमा हामी हुँदैनौँ, होइन भने हामी नै नेपाल निर्माण गर्न अगाडी बढ्छौँ । हामी पनि आउन सक्छौँ तपाईहरूले हेक्का राख्नु पर्छ” ढुङ्गानाले भने । अब बस्ने संसदको बैठकमा निजी विद्यालयको योगदान सम्बोधन गर्नुपर्नेमा जोड् दिँदै निष्कर्षमा नपुगेसम्म आन्दोलन नरोकिने बताए ।


हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्माले कोही पनि खुसी नहुने शिक्षा ऐन अगाडी बढेको भन्दै समितिका सांसदहरूले जबरजस्ती निजी शैक्षिक संस्थालाई सिध्याउने गरी शिक्षा ऐन ल्याउन खोजेको बताए । २७ जना सांसदहरूले जानी जानी यस्तो विभेदकारी निजी क्षेत्रलाई कमजोर बनाउने र भोलि गएर सिध्याउने गरी शिक्षा ऐन ल्याउन कस्सिएको उनको भनाई छ । निजी शैक्षिक संस्थाहरूका माग सरकारबाट सम्बोधन हुने विश्वास लिएको उल्लेख गर्दै कमजोर धरातलबाट आन्दोलनको थालनी नगरिएको र माग सम्बोधन नभएसम्म नरोकिने बताए ।


प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी शैक्षिक संस्थाहरूले देश बाहिर जाने विद्यार्थीलाई देशमै रोकेको बतउँदै जुन माननीयले कसैको बहकाउमा लागेर निजी शिक्षाको विरुद्धमा लागे उनिहरू सांसद हुन लायक नरहेको बताए । उनले भने “जसले निजी क्षेत्रको विरोध गर्छ, जसले गुणस्तरीय शिक्षा दिएको छ, त्यसलाई जसले तहसनहस गर्न खोज्छ त्यसलाई आगामी निर्वाचनमा रोकिने छ ।”


एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले अन्तिम निष्कर्ष नपुगेसम्म आन्दोलन नरोकिने बताउँदै संविधानको मर्म र भावना विपरीत ल्याएको ऐन मान्य नहुने र निजी शिक्षा क्षेत्रले दिएको योगदानको मुल्यांकन हुनुपर्नेमा जोड्दिए । न्यौपानेले अहिलेकै अवस्थामा निजी विद्यालय नभए पछाडिको शिक्षाको स्थिति झन भयावह हुने हेक्का राख्न सांसदहरूलाई चुनौती दिएका छन् ।