अनुमति विना शिक्षक, प्रधानाध्यापक गैर सरकारी संघ–संस्थाका काममा संलग्न नहुन निर्देशन

काठमाडौं/२८ साउन – राष्ट्रिय सतर्कता केन्द्र, उजुरी व्यवस्थापन, अन्वेषण तथा अनुगमन शाखाले केही सार्वजनिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यालयको काम भन्दा बढि गैरसरकारी संस्थाको काममा संलग्न हुने गरेको भन्दै त्यस्ता कार्यक्रममा संलग्न हुन पूर्व स्विकृत लिन निर्देशन दिएको छ ।


यसरी सार्वजनिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु गैर सरकारी संघ–संस्थाका काममा संलग्न हुँदा विद्यालयको पठन–पाठन प्रभावित हुने गरेकोले कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न स्थानीय तह सबै निर्देशन दिएको हो ।


“केही सार्वजनिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यालयको काम भन्दा बढि गैरसरकारी संस्थाको काममा संलग्न हुने गरेको व्यहोराका उजुरीहरु यस केन्द्रमा दर्ता हुने गरेका छन् । यसरी सार्वजनिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु गैर सरकारी संघ–संस्थाका काममा संलग्न हुँदा विद्यालयको पठन–पाठन प्रभावित हुने गरेको र गाउँपालिकाको काममा समेत हस्तक्षेप हुने गरेको विषयहरु सुधार गरीपाउँ भनी उजुरीमा उल्लेख भई आउने गरेको छ” पत्रमा भनिएको छ ।


देशभर रहेका सार्वजनिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले पठन–पाठन बाहेकका के–कस्ता कृयाकलापमा भाग लिन पाउने हो सो को स्पष्ट आधार तोकी त्यस्ता आधार पूरा भएमा मात्र त्यस्ता क्रियाकलापमा संलग्न हुने पूर्व स्विकृति प्रदान गर्ने गरी कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।