काठमाडौं/५ साउन – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् ।
अनेरास्ववियुले आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै शिक्षकहरू प्रति सम्मान रहेको र त्यही सम्मान स्वरूप २५ प्रतिशत आन्तिर प्रतिस्पर्धाबाट नियुक्ति गर्दा उपयुक्त हुने धारणा राखे । उनले भने “सरकारले पनि शिक्षकहरूले अहिलेसम्म शिक्षामा गरेको योगदानलाई अबमूल्यांकन नगर्नुहोस । उहाँहरू शिक्षण पेशामा सफल हुनुहुन्न भने गुणस्तरीय शिक्षाका लागि कम्प्रमाईज नगरी गेल्डेन ह्याण्डसेक मार्फत विदा गर्नु पर्छ । उहाँहरूलाई राख्ने नाममा अबको शिक्षालाई र भविष्यका विद्यार्थीहरू माथि खेलिने कुरामा अनेरास्ववियू निरीह बनेर हेर्न सक्दैन ।”
यसैगरी सार्वजनिक शिक्षाको सबलीकरण सुनिएपनि यसको भित्री तहसम्म जान नसकेका कारण निजी शिक्षाको रफ्तार बढेको उल्लेख गर्दै भुईँ मान्छेहरूलाई पनि शिक्षामा पहुँच पुर्याउनुपर्ने विषयमा राज्य गम्भीर हुनुपर्ने उनको भनाई थियो ।
कडरियाले आफू अनेरास्ववियूको अध्यक्षमा निर्वाचित भएर आएपछि संगठनलाई पालिका स्तरसम्म विस्तार गरेर शिक्षामा सुधारका लागि अनुसन्धान मूलक कार्यमा लाग्ने बताए । उनले यसका लागि नीति तथा अनुसन्धान आयोगको गठन गरिएको र यसले शिक्षामा भएका बेथितिलाई खोज्नुका साथै समाधानको बाटो देखाउने उदेश्य अनुसार गठन गरिएको प्रस्ट पारे ।
अनेरास्ववियुका महासचिव दीपक धामीले युवाहरूको शिक्षक बन्ने चाहानामा राज्यले बन्देज लगाउन नहुने बताउँदै सत प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्नुपर्ने भएपनि तत्कालका लागि अहिले भएका शिक्षकहरूलाई सम्मान स्वरूप ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेमा जोड् दिए ।



