काठमाडौं/५ साउन – नेपाली सांस्कृतिक नृत्यसम्बन्धी राष्ट्रिय कार्यशाला विशेष सम्पन्न भएको छ । देशभरिका करिब १ सय ४० जना नृत्य शिक्षकहरूको सक्रिय सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालाका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्धनमा नृत्य शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले यस्ता कार्यशालाहरूले युवा पुस्तामा सांस्कृतिक चेतना र राष्ट्रिय गौरवको भावना जागृत गर्ने विश्वास रहेको विचार व्यक्त गरे ।
कार्यशालामा सहभागी शिक्षकहरूले प्रशिक्षणका विविध पक्षमा अनुभव साटासाट गर्नुका साथै नृत्य शिक्षामा नयाँ दृष्टिकोण, प्रविधि र आधुनिक विधि सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।
डिस्कभर नेपाल डान्स् थिएटरकी संस्थापक भावना कार्कीले यस्ता कार्यशालाहरूले कलाकार तथा प्रशिक्षकहरूबिच सहकार्य र सञ्जाल निर्माणमा सहयोग पु¥याउनुका साथै नृत्य शिक्षाको गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने बताइन ।
साथै, आगामी दिनहरूमा अझ व्यापक सहभागिता, समृद्ध सामग्री तथा प्रविधिमैत्री दृष्टिकोणसहित यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।



